ताप्लेजुङ / फक्ताङ्लुङ गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
गएको बिहीबार राति गएको बाढी पहिरोबाट प्रभावित भएका परिवारलाई फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले राहत सामग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार बाढी पहिरोबाट घर जोखिममा परेको वडा ४ इखबाबुका दुई परिवार, वडा ५ तापेथोकमा पूर्णरूपमा क्षति भएको एकसहित आठ परिवार र वडा ६ लेलेपका १० परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
घर जोखिममा परेका परिवारलाई त्रिपाल र म्याट्रेस वितरण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।
यस्तै घर पूर्णरुपमा क्षति भएको परिवारलाई खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, कम्बल लगायतका सामग्री वितरण गरिएको छ ।
घर पूर्णरुपमा क्षति भएको अर्थात् घर गुमाएको परिवारलाई गाउँपालिकाको तर्फबाट चाँडै ५० हजार नगद राहत रकम उपलब्ध गराइने बताइएको छ ।
Discussion about this post