इटहरी : केन्द्रमा सरकार परिवर्तन भएसँगै कोशी प्रदेशमा पनि सत्ता समीकरण फेरिने निश्चितप्रायः छ । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै कोशी प्रदेशमा पनि एमाले र कांग्रेसबीचमै सरकार बन्नेछ ।
तर, हाल सरकारमा रहेको माओबादी केन्द्रले आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाएका कारण सरकार पुनर्गठन भएको छैन । त्यसो त केन्द्रको आदेश विना सरकारमा सहभागी हुने, नहुने भन्नेबारे अन्योल हुने स्वयम् नेताहरू बताउँछन् ।
कोशीमा एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनी नेतृत्वको सरकारमा माओबादीका तीन मन्त्री छन् ।
वर्तमान सरकारमा माओवादीका मन्त्रीहरूमध्ये गणेशप्रसाद उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने नारायण बुर्जा मगरले पर्यटन, वन तथा वातावरण मन्त्रालय र राजेन्द्र कार्कीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
मुख्यमन्त्रीसहित नौ मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई चार मन्त्रालय दिने तयारीबारे छलफल थालिएको छ । साथै, कांग्रेसबाट को मन्त्री जाने भन्नेबारे अन्योल हुँदा मन्त्रीको टुंगो नलागेको बताइन्छ ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङका अनुसार केन्द्रबाट औपचारिक निर्णय आइनसकेका कारण कांग्रेसले कुनै निर्णय लिएको छैन ।
‘माथिबाट केही पनि निर्देशन आएको छैन । अरु प्रदेशको पनि टुंगो लगाइसकेपछि अनि हामी छलफल गरेर औपचारिक निर्णय गर्नेछौँ,’ उनले भने, ‘केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिएसक्नुभएको छ । अब केही निर्णय आउँछ र छलफल अगाडि बढ्छ भन्ने सोच बनाएका छौँ ।’
उनले केन्द्रको निर्णयको पर्खाइमा रहेको बताए । उनका अनुसार अहिले अनौपचारिक छलफलहरू भने भइरहेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री हिक्मत कार्कीबीच अनौपचारिक रूपमा छलफल भइरहेपनि त्यसले मूर्त रूप पाउन सकेको छैन ।
कांग्रेसबाट सरकारमा सहभागी हुनका निम्ति आकांक्षीहरू हुनु स्वभाविक रहेको उनको भनाइ छ । कांग्रेसका तीनजना केन्द्रीय सदस्यहरू प्रदेशसभा सदस्य रहेको र मन्त्रीमा उनीहरूको नाम आउनु स्वभाविक रहेको उनको भनाइ छ । खासगरी अहिले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्नेबारे पनि छलफल हुने गरेको बताइन्छ । उनले भने, ‘कांग्रेसबाट निर्वाचित सांसदहरू मन्त्रीको आकांक्षी हुनुहुन्छ । केन्द्रको निर्णय आइसकेपछि पार्टीले औपचारिक छलफल गरी मन्त्री र मन्त्रालयको टुंगो लगाउँछ ।’
कांग्रेसबाट अहिले हिमाल कार्की, भीम पराजुली र भूपेन्द्र राईले आफ्नो नेतृत्वमा सरकारमा सहभागी हुने बताइरहेका छन् । कार्की र राई पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् भने पराजुली कृष्णप्रसाद सिटौलाका खास मान्छे हुन् । उनीहरू अहिले मन्त्रीका लागि लविङ गरिरहेको स्रोत बताउँछ । यता, केदार कार्की मुख्यमन्त्री रहँदा उनलाई समर्थन गरेका कांग्रेसका डा. शेखर कोइराला समूहका ८ सांसदहरू पनि मन्त्रीका लागि लविङ गरिरहेको स्रोतले जनाएको छ ।
यता, नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने एमाले र कांग्रेसको दुईपक्षीय छलफलले सरकार पुनर्गठन हुने बताए । ‘कांग्रेसका साथीहरूले आन्तरिक सल्लाह टुंग्याएपछि सरकार परिवर्तन हुन्छ,’ भण्डारीले भने, ‘अरु प्रदेशमा पनि अहिले सरकार परिवर्तन भइरहेका कारण अब केही दिनभित्रै कोशीमा पनि टुंगो लाग्छ ।’
उनले यसपटक भने कोशी प्रदेशमा अफ्ट्यारो परिस्थिति नरहेको जिकिर गरे । उनले थपे, ‘यसपटक सरकार परिवर्तनका लागि धेरै अफ्ट्यारो केही छैन । एक, दुई दिनभित्रै सबै मिल्छ ।’
संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट तेस्रोपटक वैशाख २७ गते मुख्यमन्त्री बनेका कार्कीले केन्द्रको समीकरण अनुसार नै कोशीमा सरकार पुनर्गठन हुने बताए ।
कार्कीले भने, ‘विगतमा सहमतिको प्रयास गर्दा हामी फेल भएका छौँ । अब माथिको समीकरणलाई पालना गरेर अगाडि बढ्छौँ ।’
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशीमा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
यसअघि कोशीमा १८ महिनाको अवधिमा छैटौँपटक सरकार परिवर्तन भइसकेको छ ।
Discussion about this post