इटहरी / उदयपुर र झापाको तीन छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा तीनजनाको मृत्यु भएको छ । बुधबार अपराह्न उदयपुरको उदयपुरगढी गाउँपालिका ६ ओदालेका २६ वर्षीय राजीव कुमार मगर करेन्ट लागेर मृत्यु भएको छ । धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यसैगरी घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका पाँचथर घर भई झापाको मेचीनगर नगरपालिका १२ मा बस्दै आएका ३० वर्षीय सन्दीप तुम्बाम्फोको उपचारको क्रममा मृत्यु भएको छ । उता, झापाको कचनकवल गाउँपालिका ४ केचनास्थित १५ वर्षीय विशाल साहको करेन्ट लागेर मृत्यु भएको छ । घरको बराण्डामा रहेको टिनको छानो छुदाँ करेन्ट लागेर बेहोस भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा मृत्यु भएको हो ।
घटनाबारे सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Discussion about this post