इटहरी: धरानस्थित वीपी कोइराला कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ वर्षपछि बढुवाको नतिजा प्रकाशित गरिएको छ । प्रशासनिक कर्मचारीतर्फ १४ वर्ष र शिक्षकतर्फ ६ वर्षपछि प्रतिष्ठानले बढुवाको नतिजा प्रकाशित गरेको हो ।
प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले बिहीबार एक सूचना जारी गर्दै बढुवाको नतिजा सार्वजनिक भएको जानकारी दिइन् । आवेदन दिनेहरूमध्ये चिकित्सक शिक्षकतर्फ स्थायी र करार गरी एक सय ९५ जनाको एक तह बढुवा भएको छ ।
यसैगरी प्रशासनिक कर्मचारीतर्फ स्थायी र पफर्मेन्स करार गरी ४ सय ९ जनाको एक तह र ३ सय ९ जनाको स्तर वृद्धि गरिएको सूचनामा उल्लेख छ । नतिजा गत असार २७ गते नै प्रकाशित भएपनि औपचारिक रूपमा भने बिहीबार मात्रै जानकारी गराइएको प्रतिष्ठानले जनाएको छ ।
प्रधानका अनुसार प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीको बढुवा २०७९ पुस २० र माघ २५ गते प्रकाशित विज्ञापन अनुसार गरिएको हो । शिक्षक तथा कर्मचारीहरूको पदोन्नति प्रक्रिया मूल्याङ्कन तथा अन्तर्वार्ताबाट आन्तरिक एक तह बढुवा र स्तर वृद्धि गरिएको उनले बताइन् ।
खासगरी प्रतिष्ठानमा सात वर्षयता प्रशासनिकदेखि कर्मचारीका वृत्ति विकासका काम नियमित हुन नसक्दा कामहरू प्रभावित बन्दै आएको छ । प्रतिष्ठानमा सधैँजसो भ्रष्टाचारका काण्ड बाहिरिने, अख्तियारले छापा हान्ने, मेडिकल उपकरण खरिदमा कमिसनको खेल हुनेजस्ता घटनाका कारण प्रतिष्ठानले गति लिन सकेको छैन ।
यसको असर बिरामीमा प्रत्यक्ष रूपमा पर्दै आएका कारण समस्या निम्तिदैँ आएको थियो । प्रतिष्ठानको चरम लापरबाहीका कारण १४ वर्षअघि जुन पदमा नियुक्त भएको हो, कर्मचारीहरू सोही पदमा कार्यरत थिए ।
प्रतिष्ठानमा एमडी–एमएस र डेन्टलतर्फ एमडीएस पास गरेपछि एक वर्षसम्म अनिवार्य सिनियर रेजिडेन्ट (एसआर) तहमा काम गर्नुपर्ने नियम छ । एक वर्ष एसआर भइसकेपछि मात्र सहायक प्राध्यापक हुन योग्य बन्ने नियम रहेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए ।
उनका अनुसार उक्त पदमा चार वर्ष अनुभव लिएपछि मात्रै सहप्राध्यापकको प्रतिस्पर्धामा जान सकिने व्यवस्था छ । सहप्राध्यापक भएको तीन वर्षमा अतिरिक्त र अतिरिक्त भएर थप तीन वर्ष सेवा गरेपछि प्राध्यापकमा बढुवाका लागि योग्य हुने उनले जनाए ।
Discussion about this post