इटहरी : इटहरी अस्पतालको सिटी स्क्यान मेसिन खरिदमा ‘कमिसनको खेल’ रहेको कुरा बाहिरिएपछि टेन्डरै रद्द गरिएको छ ।
चिनिया मेसिन उत्पादक कम्पनी युनाइटेड इमेजिङको सिटी स्क्यान मेसिन महँगोमा किन्ने र ‘कमिसन लिने’ घटना बाहिरिएपछि टेन्डरै रद्द गरिएको हो । अस्पतालले असार ३१ गते एक सूचना जारी गर्दै बोलपत्र रद्द गरिएको जनाएको हो ।
२०८१ जेठ ७ गते कान्तिपुर पत्रिकामा एक सूचना प्रकाशित गर्दै सिटी स्क्यान मेसिन खरिद गर्नका लागि टेन्डर खुलाएको थियो । आठ करोड ४० लाखमा सिटी स्क्यान मेसिनको किन्न टेन्डर गरेपनि ‘कमिसनको खेल’ बाहिरिएपछि टेन्डरै रद्द गरिएको हो ।
बढीमा पाँच करोडमा आउने ‘१२८’ स्लाइसको सिटी स्क्यान मेसिन तीन करोड बढी ‘कमिसन पाइने’ तयारी थियो । तर कमिसनको घटना बाहिरिएपछि अस्पतालले असार ३१ गते सूचना जारी गर्दै बैठकले खरिद प्रक्रिया रद्द गरेको जनाएको छ ।
अस्पतालले रद्द गरेको सिटी स्क्यान मेसिनको टेन्डर नम्बर ‘आइएच–आइसिबी–०१ जी–०८०–०८१’ हो । सो सिटीको टेन्डर कागजातमा,‘सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ सिटी स्क्यान मेसिन, इटहरी हस्पिटल, सुनसरी’ उल्लेख थियो।
करिब पाँच करोडमा आउने सिटी स्क्यान मेसिन तीन करोड बढी मूल्यमा युनाइटेड इमेजिङको उत्पादनसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेको पुष्टि हुने प्रमाण बाहिरिएपछि टेन्डर रद्द गरिएको स्रोतले जनाएको छ ।
त्यसो त इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापाले यसअघि अस्पतालको मेसिन खरिदका लागि कमिसनमा संलग्न रहेकालाई छानबिन गर्न माग गर्दै पत्रसमेत काटेका थिए । सोही वडामा रहेको अस्पतालले वडाध्यक्षलाई समेत मेसिन खरिद गर्ने कुरा जानकारी नगराइकन ‘सेटिङ’मा मेसिन खरिद गर्न लागेको थियो ।
तर, मेसिन खरिदमा ‘सेटिङ’ रहेको कुरा बाहिरिएपछि रातारात बोलपत्र रद्द गरिएको हो । यसबारे अहिले इटहरी अस्पताल र सम्बन्धित निकाय भने ‘तै चुप मै चुप’को अवस्थामा रहेको स्रोत बताउँछ ।
सिटी खरिदको विषमा वडाध्यक्ष थापाले गत साउन २ गते इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेललाई पत्र काट्दै दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।
उनले लेखेको पत्रमा ‘खरिद प्रक्रियाको स्पेशिफिकेशन कुनै एक मात्र कम्पनीले ठेक्का पार्ने गरी सुनियोजित तरिकाले खुलाएको हुँदा यसको मापदण्ड तय गर्ने कर्मचारी र प्राविधिकमाथि छानबिन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने’ माग गरेका थिए ।
अहिले प्रक्रिया रद्द गरे पनि पुनः चाहेकै कम्पनीलाई टेन्डर दिने गरी सिटी स्क्यान मेसिनको टेन्डर गर्ने तयारी रहेको उनको भनाइ छ ।
वडाध्यक्ष थापाले दुईदिन अघि मात्रै नीतिगत भ्रष्टाचार भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । ‘इटहरी अस्पतालको ल्याबको केमिकल र रिएजेन्ट खरिद प्रक्रियामा नीतिगत रूपमा प्रक्रिया मिलाएर भ्रष्टाचार गरेको भेटियो,’ उनले सञ्जालमा लेखेका छन् ।
खासगरी उक्त मेसिन इटहरी उपमहानगरपालिकाको बजेटमा खरिद हुन लागेको थियो । इटहरी अस्पतालले युनाइटेड इमेजिङसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर २०८१ जेठ ७ मा सिटी स्क्यान मेसिन खरिदको टेन्डर आह्वान गरेको थियो ।
यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले भने हाल अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेका कारण टेन्डर रद्ध गरिएको बताए ।
‘भवन निर्माणाधीन भएका कारण र यसअघि जुन बजेट छुट्याएका थियौँ, बजेट पनि परिवर्तन हुने भएकाले रद्ध गरिएको हो,’ उनले प्रदेश खबरसँग भने, ‘अस्पतालको नाममा मेसिन खरिद गर्दा केही सस्तो पर्ने भएकाले खरिद गर्न लागिएको थियो । तर, सबै योजना नगरपालिकाबाटै भएको हो ।’
उनले इटहरी उपमहानगरको स्वास्थ्य शाखाबाटै योजना बनेको र आफूलाई यसबारे धेरै केही थाहा नभएको जनाए ।
‘यसबारे मलाई पनि धेरै थाहा छैन । अस्पतालको नाममा खरिद गर्दा सस्तो पर्ने भएपनि सबै प्रक्रिया नगरपालिकाकै हो । बाँकी उतैबाट बुझ्नु,’ उनले भने ।
Discussion about this post