इटहरी : धरानका सौगात थापाको प्रहरी गाडी दुर्घटना हुँदा निधन भएको छ । विराटनगरमा प्रहरीको गाडी दुर्घटनामा परी घाइते भएका प्रहरी जवान धरान उपमहानगरपालिका १७ घर भएका २५ वर्षीय सौगात थापाको निधन भएको हो ।
गत साउन २ गते विराटनगरमा प्रहरीको गाडी दुर्घटना भएको थियो । मुस्लिम समुदायको मोहरम पर्वको कार्यक्रमको सुरक्षामा प्रहरी लिएर विराटनगरको रानीतर्फ जाँदै गरेको ना १ ग २५५९ नम्बरको प्रहरीको गाडी दुर्घटना हुँदा दुई दर्जन बढी प्रहरीहरू घाइते भएका थिए ।
जसमध्ये थापाको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुष्टि गरेको छ ।
विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटनामा परेको हो। उक्त गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर थियो । अन्य सबै उपचारपछि घर फर्किइसकेको भएपनि थापाको अवस्था गम्भीर रहेकाले उपचाररत थिए ।
उनको बिहीबार निधन भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, डीआइजी चन्द्रकुवेर खापुङले दुःख व्यक्त गरेका छन् ।
डीआइजी खापुङद्धारा जारी श्रद्धाञ्जलीमा भनिएको छ, ‘कर्तव्य पालनको सिलसिलामा दुर्घटना परी घाइते भई उपचारको क्रममा भएको निधनले हामी मर्माहत भएका छौँ ।’
Discussion about this post