धरान । २३ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाहुना टोली युनाइटेड खार्साङ फुटबल क्लबसँग स्तब्ध हुँदै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खार्साङसँग धरान टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित भयो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा धरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेपछि धरान पराजित भएको थियो ।
खार्साङका लागी आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गरे । धरानकालागी दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच खार्साङका गोल किपर मनोज प्रधान घोषित भए । उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उद्घाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैया पुरस्कार दिएको थियो भने नगद १० हजार धरान फुटबल क्लबले प्रदान गरेको थियो ।
जितसँगै खार्साङ सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिष्पर्धात्मक खेलमा धरानले पाएको अवसरमा गोल गर्न नसक्दा हार बेहोर्नु परेको प्रशिक्षक सागर घिमिरेले बताउनुभयो । खेलको ५० औं मिनेटमा धरानका बिटु तामाङले प्रहार गरेको बल बारमा लाग्दै फर्किएको थियो । त्यस्तै उनले खेलको ४४ औ मिनेटमा प्रहार गरेको बल पनि बार नजिकबाट बाहिरिएको थियो । खेलको ३० औं मिनेटमा खार्साङका बिरेन प्रधानले प्रहार गरेको पावरफुल सट धरानका गोल किपर आशिष कार्कीले मुस्किलले क्लियर गरेका थिए ।
भोलीको खेल अफ्रिकन क्लब एभिनियर एफसि र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता यही फागुन १३ गतेदेखि २० गतेसम्म धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग वियरले मुख्य प्रायोजना गरेको छ ।
Discussion about this post