विराटनगर : मोरङमा पूर्व सांसद (पूर्वप्रदेशसभा सदस्य)को पोखरीमा कामदार मृत फेला परेका छन् ।
बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा रहेको तबदार माछा फार्मको पोखरीमा आइतबार (आज)दिउँसो कामदारको शव भेटिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार माछा फार्मको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीका ४० वर्षीय अर्जुन श्रेष्ठको शव फेला परेको हो ।
माछा पोखरीमा डुबिरहेको अवस्थामा श्रेष्ठलाई दिउँसो १२ः३० बजेतिर मृत फेला पारिएको जानकारी बस्नेतले दिए ।
स्थानीयले पोखरीमा डुबिरहेको देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले पोखरीबाट शव निकालेर पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।
प्रहरीका अनुसार उक्त माछा फार्म कोशी प्रदेशका पूर्वप्रदेशसभा सदस्य (पूर्व सांसद) चुमनारायण तबदारको हो ।
नेपाली कांग्रेसका नेतासमेत रहेका तबदारले माछा फार्म सञ्चालन गरेर पोखरी निर्माण गरी माछापालन गर्दै आएका थिए । प्रहरीका अनुसार मृत फेला परेका श्रेष्ठ माछा फार्मका कामदार हुन् ।
डीएसपी बस्नेतका अनुसार घटना कसरी भयो भनेर यकिन हुन बाँकी छ । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उनले बताए ।
Discussion about this post