विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरण अनुसार कोशी प्रदेशमा नयाँ सरकार बन्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै कार्कीले प्रदेशमा केही दिनभित्रमा संयुक्त सरकार निर्माण हुने बताए । नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने उनको भनाइ छ ।
कार्कीले शक्ति संख्याका आधारमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय पाउने सहमति भइसकेको बताए ।
एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्की नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने भएको छ । तर, मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । कांग्रेसले मन्त्री टुंगो लगाउन नसक्दा नयाँ सरकार निर्माण गर्न केही समय लाग्ने देखिन्छ ।
अहिलेको सन्दर्भमा मन्त्रालयको संख्या नबढाउने मुख्यमन्त्री कार्कीले स्पष्ट पारेका छन् । ‘प्रदेशका सन्दर्भमा मन्त्रालयको संख्या अहिले बढाउँदैनौं,’ उनले भने, ‘९ वटा मन्त्रालयमा हामीले बाँडफाँट गर्दा खेरी शक्ति संख्याका आधारमा ४ र ५ हुन्छ ।’ उनले कांग्रेसले मन्त्री बन्नेको नाम दिएमा २/४ दिनभित्रमा मन्त्रिमण्डल विस्तार गरिने बताए ।
राष्ट्रिय राजनीतिमा बनेको समीकरणमा जानेभन्ने कुराको सहमति एमाले र कांग्रेसबीच भएको कार्कीको भनाइ छ ।
‘कसरी सहकार्य गर्नेभन्ने सन्दर्भमा चैं राजनीतिक कुराहरु माथिबाट जे टुंगिन्छ, त्यसमा जान्छौं हामी । सरकारको नेतृत्वको आलोपालो राजनीतिक कुरा हो । नेतृत्वले नै केन्द्र र प्रदेशमा पनि टुंग्याउँछ,’ उनले भने ।
प्रदेशको बजेट पास भएर कार्यान्वयनमा गइसकेको अवस्थामा बजेट पुनरावलोकन नहुने मुख्यमन्त्री कार्कीले बताए । उनले भने, ‘बजेट पास भएर कार्यान्वयनमा गइसकेको छ ।
आवधिक समयमा नमिलेको बजेटलाई कानुनबमोजिम सच्याउन सकिन्छ । तर, पुनरावलोकन हुँदैन ।’
Discussion about this post