काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
मङ्गलवार काठमाडौँमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले आफू सके राम्रो काम गर्ने नसके गलत पनि नगर्ने बताए ।
उनले भने, ‘मलाई गलत गर्ने छुट छैन, मैले सकेसम्म राम्रो गर्ने छु तर सकिने भने पनि गलत भने गर्दिन । यो मेरो प्रतिबद्धता हो । म साझा मान्छे हो समस्या परेको बेला बिना पक्षपात सबैको साथमा रहने पहल र प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’
यस्तै, उनले ग्रामीण भेगबाट काठमाडौँको भान्सामा आइपुगेको सामानको मूल्य दोब्बर हुने अवस्था रहेको भन्दै यसबारे सबैले अति गम्भीर भएर सोच्न आवश्यक रहेको बताए ।
‘खेतबाट यहाँको बजारसम्म आउँदा तरकारीको मूल्य दोब्बर हुन्छ, यसमा सोच्न आवश्यक छ । यसको अर्थ सबै दोष व्यापारिक भन्ने हुदैँन्, उनीहरूको पनि आफ्नै समस्या छ । उनीहरूको समस्या राज्यले सुन्नु पर्छ । त्यो दायित्व राज्यसँग छ । सुनुवाइ भएको छ, छैन भन्ने कुरा म अहिले भन्न सक्दिन । तर जमिनबाट टिपेर काठमाडौँको भान्सामा आइपुगेको सामानको मूल्यमा अन्तर कति हुन्छ यसबारेमा अति गम्भीर भएर सोच्नु पर्छ ।’
उनले आगामी दिनमा विषादीरहित भान्सा बनाउने विषयमा पनि सबै जना क्रियाशील भएर लाग्न पनि अनुरोध गरे ।
उनले भने, ‘नेपाल जडीबुटीले भरिपूर्ण देश छ, विश्वले चिनेको तर हामीले देख्न सकेका छैनौ । कृषि पेसामा आबद्ध र सरोकारवाला सबै आगामी दिनमा विषादीरहित भान्सा बनाउने विषयमा क्रियाशील रहन सकौँ । यसमा सबै जना लाग्नको लागि अनुरोध पनि गर्न चाहन्छु ।’
अब हाम्रो समस्या कसैले सुन्दैन भनेर होइन की सुन्ने मान्छे आएको छ भनेर विश्वास लिन पनि उनको आग्रह छ ।
Discussion about this post