विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान प्रदेश सरकार कार्यकर्तामुखी योजनामा रमाइरहेको आरोप लगाएका छन् ।
प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले हालको प्रदेश सरकार कार्यकर्तामुखी भएको भनेर कटाक्ष गरेका हुन् । प्रदेश सरकार फेरबदलसँगै जनमुखी कार्यक्रमहरु कटौती गरिएको र कार्यकर्तामुखी योजना अघि सारिएको आरोप कार्कीले लगाए ।
विराटनगरस्थित कोशी प्रदेश प्रदेशसभा भवनमा बुधबार पत्रकार सम्मेलन गरेर कार्कीले वर्तमान प्रदेश सरकारविरुद्ध आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।
वर्तमान सरकारले कार्यकर्तामूखी योजनालाई प्राथमिकतामा राख्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु रोकर अन्याय गरेको उनको भनाइ छ । ‘अहिलेको सरकारले कार्यकर्तामूखी योजनालाई जोड दिँदै २५ हजार रुपैयाँ बजेटसम्मको कार्यक्रम अघि सार्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्यसमेत रहेका कार्की सरकारले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, विपन्न विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृत्ति, जनावरमैत्री जंगल, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान, शैलजा आचार्य हृदयरोग केन्द्र स्थापना तथा सञ्चालन, महिला स्वयंसेवकलाई प्रोत्साहन कार्यक्रम, केशलीया करिडोर निर्माण र प्रदेशमा सगरमाथा दिवस मनाउनेजस्ता जनतामूखी कार्यक्रम रोकेर अन्याय गर्न नहुने बताउँछन् ।
यी कार्यक्रम कार्की नेतृत्वको सरकारले अघि सारेको थियो । अहिले नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेश सरकार छ ।
पूर्वमुख्यमन्त्री कार्कीले अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई ओझेलमा नराख्न आग्रह गरेका छन् । जनताको कर जनतालाई नै सुम्पिने कार्यक्रमलाई उपेक्षा गरिए आन्दोलन गरिने चेतावनी उनले दिएका हुन् ।
कार्कीले आफू नेतृत्वको अघिल्लो सरकारले भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत भएका टुक्रे बजेटलाई निरुत्साहित गर्दै २५ लाख रुपैयाँ माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने प्रत्यत्न गरेको बताए । तर, सरकार परिवर्तनसँगै अहिलेको सरकारले जनतामुखी कार्यक्रम हटाएर कार्यकर्तामुखी कार्यक्रम ल्याएको उनको भनाइ छ ।
उनले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचारलाई सरकारले निरन्तरता दिनुपर्ने माग गरे । ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार कठोर हुन हुँदैन । यो कार्यक्रममा रोकेर गलत राजनीति गरियो,’ कार्कीले भने ।
कार्कीले विभिन्न ८ बुँदे माग सार्वजनिक गर्दै माग पूरा नभए आन्दोलन गर्ने घोषणा गरेका हुन् । कार्कीले आफू नेतृत्वको सरकार हुँदा सुरु भएका महत्वपूर्ण योजना समावेश गर्न पनि माग गरेका छन् ।
केन्द्रीय समीकरण अनुसार कोशीमा एमाले नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी हुँदैछ । तर, आफ्नो पार्टी सरकारमा सहभागी भए पनि जनताको मुद्दा उठाउन नछाड्ने कार्की बताउँछन् । केन्द्रीय गठबन्धन अनुसार कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी हुने उनको भनाइ छ ।
Discussion about this post