विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० खोर्सानमा शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।
बसलाई मोटरसाइकलले र त्यही मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो । सडकमा गुडिरहेको प्रदेश १–०२–००१ ख ९८८३ नम्बरको बसको पछाडि बाबु–छोरा सवार मोटरसाइकल दिउँसो ४ः४५ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
बसले अचानक ब्रेक लगाउँदा ठोक्किन पुगेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोटरसाइकललाई पछाडिबाट टिपरले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार मोटरसाइकललाई ना १ क ६१६७ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक केराबारी गाउँपालिका–९ का २२ वर्षीय रञ्जित मगर र पछाडि सवार उनका बुवा ६९ वर्षीय रामबहादुर मगर घाइते भएका थिए । दुवै जना घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । गम्भीर अवस्थाका रामबहादुरलाई अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए ।
घाइते रामबहादुरको टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । दुर्घटनामा परेर घाइते भएका रञ्जितको उपचार जारी छ । शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था मध्यम रहेको जानकारी प्रहरीले दिएको छ ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली खटिएको थियो । मोटरसाइकल, टिपर, बस र बसका चालक उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टिपर चालक फरार रहेकाले खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए ।
Discussion about this post