इटहरी : जनता बहुमुखी क्याम्पसको शैक्षिक विकासमा पूर्व विद्यार्थी समाज सक्रिय भएर लाग्ने भएको छ ।
इटहरीको प्रतिष्ठित सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर विकास, पूर्वाधार विकास तथा सामाजिक विकासमा काम गर्ने पूर्व विद्यार्थी समाजले जनाएको छ ।
गत जेष्ठ २६ गते पूर्व विद्यार्थीहरूको सर्वपक्षीय भेलापश्चात निर्वाचनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको छ ।
मिलन त्रितालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्वाचित भएको थियो । आज (शुक्रबार) नवनिर्वाचित समितिलाई विजयीको प्रमाण पत्र वितरण गरियो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसी तथा क्याम्पस प्रमुख डा. गीता अधिकारीले विजयीहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।
निर्वाचन समिति संयोजक नवीन शर्माले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै क्याम्पस प्रमुख अधिकारीले क्याम्पसको शैक्षिक विकासमा पूर्व विद्यार्थी समाजले भूमिका खेल्ने अपेक्षा गरिएको बताइन् ।
क्याम्पसबाट अध्ययन गरी पासआउट भएका विद्यार्थीहरूलाई पुनः एक ठाउँमा गोलबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी समाजले पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । समाजलाई पदमा बस्ने मात्रै नभएर काम गरेर देखाउन अवसर पनि रहेको उनको भनाइ छ ।
यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष केसीले क्याम्पसको शैक्षिक विकास र आर्थिक स्रोत खोजीमा सञ्चालक समितिलाई सहयोग गर्ने रहेको बताए ।
क्याम्पसको आफ्नो स्थायी आर्थिक स्रोत नभएको बताउँदै अध्यक्ष केसीले स्रोतको व्यवस्थापन चुनौति रहेको बताए ।
पूर्व विद्यार्थी समाजका नवनिर्वाचित अध्यक्ष त्रितालले क्याम्पसमा अध्ययन गरी पासआउट भएका पूर्व विद्यार्थीहरूको खोजी गर्दै संस्थामा गोलबद्ध गराउने प्रतिवद्दता जनाए । क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन र स्ववियुसँग समन्वय गरी अन्य क्षेत्रमा काम गर्ने त्रितालले बताए।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्वाचन समिति, क्याम्पस सञ्चालक समिति, प्राध्यापक संघ, स्वतन्त्र विद्यार्थी युनियनलगायत सहयोगी सबैलाई धन्यवाद दिने निर्णय गरेको सचिव युवराज काफेले जानकारी दिए ।
क्याम्पस, विद्यार्थी र स्ववियुको बारेमा स्ववियु सभापति सहदेव काफ्लेले जानकारी गराएका थिए ।
Discussion about this post