इलाम / सीमावर्ती पशुपतिनगरमा रहेको इलाका प्रहरी कार्यालयमा महिला प्रहरीका लागि निर्माण गरिएको आवास गृहको उद्घाटन गरिएको छ ।
कोशी प्रदेश सरकारको ३८ लाख ११ हजार पाँच सय ९० रुपियाँको लागतमा एक तले महिला प्रहरी आवास गृहको निर्माण गरेको हो । आवास गृहको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारको लगानी तथा कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाको समन्वयमा ६५ बर्गमिटर क्षेत्रफल भएको आवास गृह, भान्सा घर र शौचालय निर्माण गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए ।
भवन उद्घाटन गर्नुहुँदै प्रहरी नायब महानिरीक्षक खापुङले सेवा विस्तारसँगै जनमुखी भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले प्रहरीले समयानुकूल आफू परिमार्जित भएर नागरिकलाई जनअपेक्षा अनुरूप काम गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारमा अझै धेरै ठाउँमा समस्या रहेको बताउँदै क्रमशः सुधार गर्दै लैजानु पर्ने बताए ।
कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेपाल–भारत सीमा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालयलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।
कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले प्रहरीले नागरिकका समस्या बुझेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भारतको पश्चिम बङ्गाल प्रहरी प्रमुख विवेक क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक प्रभु ढकालले इलाम जिल्लाभर ७१ जना महिला प्रहरी कार्यरत रहेको जानकारी दिए । उनले महिला भवन निर्माणले महिला प्रहरीका लागि आवासमा सहज भएको जानकारी दिए ।
Discussion about this post