हेटौँडा । ३० जना यात्रुको ज्यान जोगाएर मृत्युवरण गरेका चालक मेघनाथ विकलाई मरणोपरान्त राष्ट्रिय सम्मान गर्दै पीडित परिवारलाई राहतको व्यवस्था गर्ने लगायत १० बुँदे प्रस्ताव पारित गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको राष्ट्रिय प्रतिनिधि परिषद् हेटौँडामा सम्पन्न भएको छ ।
नारायण मुग्लीन सडक खण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित १७ किलोमा असार २८ गते रुपन्देहीको छपियाबाट यात्रु लिएर काठमाडौँ जाँदै गर्दा लु २ ख ६५६६ नम्बरको प्रतिज्ञा डिलक्सका चालक मेघनाथ विकलाई पहिरोबाट आएको ढुङ्गो लागेपछि घाइते अवस्थामै चालक विकले ३० जना यात्रु सहितको बसलाई ५० मिटर दुरीको सुरक्षित स्थानमा रोकेर यात्रुहरूको ज्यान जोगाएका थिए ।
तर घाइते चालक विकलाई भरतपुर अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चालक विकलाई मरणोपरान्त राष्ट्रिय सम्मान सहित परिवारलाई राहतको व्यवस्था गर्न परिषद्ले सरकारसङ गरेको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडामा शनिवार र आइतबार सम्पन्न परिषद्ले असार २८ गते बिहान साढे ३ बजे चितवनको सिमल ताल पहिरोमा परि त्रिशूली नदीमा खसेर ज्यान गुमाउनु भएका गणपति डिलक्सका चालक राज किशोर चौधरी, कन्डक्टर, ऋषि सिंह, सहचालक लक्ष्मण यादव, एन्जल डिलक्सका चालक, जाहिद महतो, कन्डक्टर, राजेन्द्र लामिछाने केसी, सहचालक प्रेम चौधरी सहित यात्रुहरूका परिवारलाई तत्काल राहतको व्यवस्था गर्न परिषद् बैठकले सरकारसङ माग गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका देशभरिका छानिएका १ सय ४५ जना प्रतिनिधिहरू सहभागी रहेको परिषद्ले सडक दुर्घटनामा ज्यान गुमाएका, अङ्गभङ्ग भएका, आजीवन अपाङ्गता भएका र आश्रित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि “सडक दुर्घटना विपद् व्यवस्थापन कोष” स्थापनाका लागि सरकारसङ माग गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले फेरिएको सार्वजनिक सवारी यातायात र सुधारका लागि हाम्रो कार्यभार विषयक कार्यपत्र प्रस्तुत गरेको परिषद्मा ट्राफिक व्यवस्थापनको नाममा यातायात श्रमिकहरूलाई सडकमा अनावश्यक हैरानी दिने गरेको, आर्थिक सङ्कलनको उद्देश्यले सडकमा सवारी चेकजाँच गरी जरिवाना काट्ने, श्रमिकहरूलाई दुःख दिने काम गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारसङ माग गरिएको छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न छुट्टै यातायात मन्त्रालयको स्थापना गरी अधिकार सम्पन्न राष्ट्रिय यातायात प्राधिकरण गठन गरेर लगानीको संरक्षण, श्रमिकहरूलाई सामाजिक सुरक्षा सहितको जीवनको सुनिश्चितता र यात्रुहरूको सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवाको ग्यारेन्टी गर्न सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई सरोकारवालाहरूको सुझावलाई समेटेर तत्काल संशोधन गर्न सरकारसङ माग गरिएको छ ।
देशभरिका प्रतिनिधिहरूलाई ६ वटा समूहमा विभाजन गरी वृहत् छलफल गरिएको परिषद्को बन्द सत्रमा सडक दुर्घटना महामारी झैँ फैलिरहेको भन्दै प्रत्येक दिन ७ देखि ८ जना व्यक्तिको ज्यान गइरहेको र ४० जना घाइते हुने गरेको भन्दै सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा परिषद् गठन गरी सडक दुर्घटना अघि शिक्षा, दुर्घटना हुँदा उद्धार र राहत र सडक दुर्घटनापछि घाइते, अपाङ्गता भएका र पीडितलाई पुनर्स्थापनाको प्याकेज बनाउन सरकारलाई सुझाएको छ ।
त्यस्तै सम्पूर्ण यातायात श्रमिकहरूले सामाजिक सुरक्षामा अनिवार्य दर्ता हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको परिषद्ले भारतीय ट्रकहरूले निर्वाधरुपमा नेपालका विभिन्न सहरहमा मालसामान ढुवानी गर्दा नेपाली श्रमिक, स्वरोजगार तथा व्यवसायीहरू मर्कामा परेको र नेपाली व्यवसायीहरूले भारतीय व्यवसायीहरुसंग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएकाले सरकारी नीतिहरूलाई परिमार्जन गर्दै नेपाली भूमिमा भारती ट्रकहरूलाई निर्बाध प्रवेशमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै चीनसँग नाका जोडिएका रसुवागढीको टिमुरेबाट चीनको केरुङसम्म जानका लागि पासको व्यवस्था रसुवा जिल्लाका नागरिकका लागि मात्रै गर्दा वार्षौदेखि ट्रक कन्टेनरका श्रमिक तथा स्वरोजगारहरू समस्यामा परेकाले सबै श्रमिकहरूलाई सिमापार आवतजावत गर्ने व्यवस्था गर्न सरकारसङ परिषद्ले माग गरेको छ ।
त्यसै गरी इन्धन ढुवानीमा काम गर्ने टेंकर चालक तथा सहचालकहरू भारतका विभिन्न डिपोहरूमा जाने क्रममा लुटिने, कुटिने र असुरक्षित हुनुपर्ने समस्या वर्षौँदेखि भोग्दै आइरहनु परेको स्मरण गराउँदै विदेशी भूमिमा श्रमिकहरूको सुरक्षाको प्रत्याभूतिका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
परिषद् उद्घाटन समारोहमा जिफन्टका उपाध्यक्ष विदुर कार्की, महासचिव लक्ष्मण शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका महासचिव जगन्नाथ गौतम, नारायणी यातायात व्यवसायी कम्पनीका अध्यक्ष गोकर्ण पराजुली, सञ्चालक खेम काफ्ले, लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
Discussion about this post