काठमाडौँ । बङ्गलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरी चर्किएको छ ।
प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले आइतबारदेखि पूरै बङ्गलादेशमा कर्फ्युको घोषणा गरेको छ । बङ्गलादेशमा जारी हिंसामा आइतबार मात्र ९७ जनाको मृत्यु भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रदर्शनका क्रममा ५०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बताइएको छ । आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।
बङ्गलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्युको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।
बङ्गलादेशका विभिन्न भागहरूमा हजारौँ मानिसहरू भेला भएर शेख हसिनाको राजीनामाको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले बङ्गलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए ।
बङ्गलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबिच हिंसात्मक झडप भएको छ । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन् । यसअन्तर्गत सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।
Discussion about this post