ऋषिबहादुर राई । उदयपुरको कटारीमा सम्पन्न चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि कटारी वडा नम्बर २ ले कब्जा गरेको छ । आज (आईतबार)सम्पन्न प्रतियोतिगाको फाईनलमा कटारी वडा नम्बर ५ लाई टाईपव्रेकरमा २ का विरुद्ध ३ गोल गर्दै कटारी वडा नम्बर २ ले उपाधि कब्जा गरेको हो ।
उपाधिसँगै वडा नम्बर २ ले नगद १ लाख , ट्रफी , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता कटारी वडा नम्बर ५ ले नगद ५० हजारका साथमा ट्रफी , मेडल र प्रमाण पत्रमा चित्त बुझायो । विजेता र उपविजेतालाई कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको फाईनलमा निर्धारित सयमा दुवै टिमले गोल गर्न सकेनन् ।त्यसपछी भएको टाईपव्रेकरमा कटारी २ का लागि अमर मगर , मेखबहादुर पौडेल र सुनिल तामाङ्गले गोल गरे । त्यसैगरी कटारी ५ का लागि महेन्द्र भुजेल र सागर राईले गोल गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी कटारी , ५ का महेन्द्र भुजेल , उत्कृष्ट गोल रक्षक कटारी २ का गोविन्द कार्की , उदयमान खेलाडी कटारी २ का सविना कटुवाल , उत्कृष्ट डिफेन्डर कटारी ४ का दिपेश राई र खेल भरीमा ६ गोल गरेका सर्वाधिक गोलकर्ता कटारी ५ कै महेन्द्र भुजेल घोषित भए । विधागत रुपमा विजेताहरुलाई नगद , प्रमाण पत्र र मेडल समेत प्रदान गरिएको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक तामाङ्गले बताए ।।
कटारी नगर खेलकुद विकास समितिको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । १४ वडा रहेको नगरको वडा नम्बर १३ बाहेक सवै वडा गरी १३ वडाका टिमले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।गएको ७ फागुनमा प्रजातन्त्र दिवशको अवसर पारेर प्रतियोगिता सुरु गरिएको थियो ।
Discussion about this post