ताप्लेजुङ / सामुद्रिक सतहबाट करिब ३ हजार ७ सय मिटरको उचाइमा रहेको ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा साउन २५ गतेबाट भलिबल प्रतियोगिता,हाफ म्याराथन प्रतियोगिता सहित ४ दिने पर्यटन महोत्सव हुने भएको छ ।
मिक्वाखोला गाउँपालिकाको वडा नं ५ पापुङको तोक्पेगोलामा हुने तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत महोत्सवको जानकारी गराएको हो ।
आयोजकले सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
प्रचारप्रसार समिति संयोजक नुपुछिरिङ शेर्पाका अनुसार पापुङ र तोक्पेगोला क्षेत्र पर्यटकीय सुन्दरताको खानी भएकोले त्यहाँ रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र बजारीकरणका लागि महोत्सव आयोजना गरिएको बताइएको छ ।
महोत्सव मूल आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवा लिम्बूका अनुसार ४ दिने महोत्सवका क्रममा करिब २५ देखि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
उनका अनुसार करिब ३ हजार ७ सय मिटर उचाइको महोत्सव स्थलमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने छ ।
प्रतियोगिताका विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपबिजेताले ७१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
विजेता रकमको प्रायोजन अमेरिकाको न्यूर्योक बस्ने रेडपाण्डा होटलका प्रोप्राइटर सन्तोष शेर्पा तथा उपबिजेताको प्रायोजन हिमालयन कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर इन्द्र केदेमले गरेको जनाइएको छ ।
तोक्पेगोलाको बस्तीबाट सोदुपोखरी हुँदै करिब १५ किलोमिटर दुरीमा हुने खुल्ला हाफ म्याराथनका विजेताले नगद ३० हजार, उपबिजेताले नगद २० हजार र तृतीय हुनेले नगद १० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने भएका छन् ।
हाफ म्याराथनका विजेता रकमको प्रायोजन ताप्लेजुङ विल्र्डस प्रालिका प्रोप्राइटर निमा शेर्पा र उपबिजाते रकमको प्रायोजन अमेरिकाको न्यूर्योक बस्दै आएका ठोक्प्या क्लबका अध्यक्ष ओङदी शेर्पाले गरेका छन् ।
महोत्सवमा तिब्बतीयन संस्कृतिमा आधारित प्यारासो खेल समेत आयोजना गरिएको छ ।
उक्त खेलका विजेताले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्यारासो खेलको विजेताले पाउने पुरस्कार रकमको प्रायोजन अरुण कन्ट्रक्सनका प्रोप्राइटर अर्जुन शेर्पाले गरेको बताइएको छ ।
महोत्सवमा हिमाली भेगका बासिन्दाको दैनिकी र रहनसहनका साथ चौँरीको महत्वका बारेमा समेत आन्तरिक तथा बाह्य पर्यटक जानकार हुने अपेक्षा गरिएको छ ।
Discussion about this post