इटहरी : इटहरीमा चीनबाट चारवटा नगरबस आइपुगेको छ । नगर क्षेत्रभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन इटहरी उपमहानगरपालिकाले खरिद सम्झौता गरेको विद्युतीय नगर बस सोमबार आइपुगेको हो ।
नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत इटहरीका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर कार्य अगाडि बढाइएको थियो । इटहरी आइपुगेको नगर बस दसैँ अघिदेखि सञ्चालनमा ल्याइने पोखरेलले बताए ।
नगर बसलाई इटहरी क्षेत्रभित्र सञ्चालन गर्नेगरी रुट निर्धारण गरिने र नगर बस सञ्चालनका लागि सडक नबनेका ठाउँमा बनाइने उनको भनाइ छ । अहिले नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधि अन्तिम चरणमा पुगेको उनले बताए ।
रुट निर्धारण समितिका उप–संयोजकसमेत रहेका इटहरी वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापाले समितिको बैठक बसेर चाँडै बस चल्ने रुटको टुङ्गो लगाइने बताए ।
‘हामीले पहिलो चरणमा केही स्थानमा रुट हेरिसकेका छौ । अब फेरि विभिन्न चरणमा स्थलगत रूपमा रुट हेरेर इटहरीका धेरै ठाउँमा नगर बस पुग्ने गरी रुट निर्धारण गर्नेछौ’ उनले भने ।
न्यूनतम भाडा लिएर नगर सञ्चालन हुने उनको भनाइ छ । नगर बस रुट निर्धारण र व्यवस्थापनको लागि कार्यविधिको ‘ड्राफ्ट’ मात्र तयार भएको उनको भनाइ छ ।
‘चार वटा बसले इटहरीको चार वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ थापाले भने । विद्युतीय बस भएकाले सडकमा खाल्डाखुल्डी भएका ठाउँमा नचल्ने र पक्की सडकमा मात्रै चल्ने उनले बताए ।
नगर बस खरिदको लागि नेसनल फायर सेफ प्रालिसँग सम्झौता भएको मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले जानकारी दिए । उनका अनुसार गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता भएको थियो ।
इटहरी आइपुगेको नगर बस अपाङ्गमैत्री रहेका भट्टराईले बताए । उनले बिद्युतीय बसमा इञ्जिन नहुने भएकाले बिग्रिदाँ कम खर्चिलो हुनेसमेत बताए । बस सञ्चालनको लागि चालक र सहचालक नियुक्त गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
‘अपाङ्गमैत्री बस भएका कारण ग्राउन्ड क्लियरेन्स अलिक सानो भएको हो । बाटो बिग्रिएका ठाउँमा बाटो बनाउने र अहिले रुट निर्धारणको काम भइरहेको छ,’ भट्टराईले भने, ‘इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायातको पहुँच नभएका नागरिकका लागि सहज पहुँच होस् भनेर नगर बस ल्याइएको हो ।’
उनका अनुसार एउटा बसलाई करिब एक करोड ५९ लाख रुपैयाँ परेको हो । विद्युतीय बस भएका कारण महंगो भएको उनको दाबी छ । जँगथङ कम्पनीको बस ठेक्का प्रक्रियामार्फत ल्याइएको भट्टराईले बताए ।
Discussion about this post