इटहरी : कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाएको छैन । खासगरी नेपाली कांग्रेसले मन्त्री पठाउन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो । तर, अहिले गुट विवाद र मन्त्रालय संख्या थप्ने कुुरासमेत उठिरहँदा यसबारे अफवाह मात्रै भएको बताइएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले प्रदेशमा मन्त्रालय थप्ने र पार्टीभित्र गुट विवादको कुरा अफवाह भएको बताए ।
‘निश्चित कारण र उदेश्य नभइकन मन्त्रालय थप्ने भन्ने नै हुँदैन । मन्त्रालय थप्ने कुरा चर्चा चल्नु आफ्नो ठाउँमा स्वभाविक होला, तर अफवाह हो,’ उनले भने, ‘जिम्मेवार थपेको खण्डमा पछि सल्लाह गरेर मन्त्रालय बढ्ला । तर, अहिले कांग्रेस र एमालेभित्र मन्त्रालय थप्ने कुरा भएको छैन ।’
हचुवाको भरमा मन्त्रालय थप्ने कुरा स्वीकार्य नहुने उनले बताए । ‘एउटा वा दुईवटा मन्त्रालय थपेर कांग्रेसलाई के फाइदा हुन्छ ? हचुवाको तालमा मन्त्रालय थप्न हुँदैन भन्ने पक्षमा हामी छौँ,’ प्रमुख सचेतक तामाङले भने, ‘दलको हिसाबमा कांग्रेस र एमाले दुवै पार्टीमा यसबारे कुरा भएको छैन । मन्त्रालय थप्दा केही समूहका साथीहरूलाई फाइदा होला । तर, यसले कसैलाई हित गर्दैन ।’
उनले कुनै कारण वा उदेश्यविना मन्त्रालय थप्न नहुने जिकिर गरे । उनले केही राज्यमन्त्री थपिएपनि मन्त्रालय संख्या तत्काल नबढ्ने बताए । अहिले सार्वजनिक भइरहेका समाचारमासमेत उनले असन्तुष्टि जनाए ।
‘खासमा भन्ने हो भने म पनि मिडिया हेरेरै धेरै कुरा थाहा पाउँछु, विश्वास पनि गर्छु । तर, अहिले जे पायो त्यही कुरा आएको देखेर छक्क परिरहेको छु,’ उनले भने ।
दलको नेता परिवर्तनको तयारी हो भन्नेबारे उनले यो पनि अफवाह रहेको सुनाए । भने, ‘कहिले दलको नेता परिवर्तन भनेर आएको छ, कहिले शेखर र कृष्ण दाइको कुरा नमिलेर मन्त्रिपरिषद् विस्तार नभएको भन्ने आएको छ । कसले गर्ने हो दलको नेता परिवर्तन ? केन्द्रले त दलको नेता परिवर्तन गर्ने होइन होला नि ?’
पार्टीभित्र आन्तरिक विवाद नभएको उनले प्रष्ट्याए । पहिले सभापति शेरबहादुर देउवाले नै अरु प्रदेशको टुंगो लागिसकेपछि सबैभन्दा अन्तिममा मात्रै कोशीको टुंगो लगाउने बताएका कारण कांग्रेसले मन्त्री पठाउन ढिला भएको तामाङले बताए ।
उनका अनुसार मंगलबारदेखि औपचारिक रूपमा मन्त्रीबारे छलफल सुरु भएको छ । ‘आजै भरेसम्म नभए भोलिसम्म टुंगिन सक्ने सम्भावना छ,’ उनले भने, ‘कोशीको विषयमा सबै कुरा क्लियर नै छ । छलफल प्रारम्भ भयो, अब संसदीय दलको नेताले नाम लिएर आउनुुहुन्छ र हामी सरकारमा सहभागी हुन्छौँ ।’
उनले केन्द्रको निर्णयलाई नै सहमति गरेर जाने भएकाले निर्णयको पर्खाइमा रहेको बताए । उनले पुनः थपे, ‘कांग्रेसलाई मन्त्रीको लोभ छैन । एउटा मन्त्रालय थपेर केही हुनेवाला छैन ।’
यता, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि मन्त्रालय थप्ने कुरामा सत्यता नरहेको बताए । ‘कुनैकुनै पार्टीका नेताले त्यो चाहेको हो कि के हो, तर मन्त्रालय थप्ने कुरा सरकारको तर्फबाट छैन,’ उनले भने, ‘कोशीमा अहिले मन्त्रालय थप्ने आवश्यकता छैन । आवश्यकता देखियो भने सल्लाह गरेर बढ्न पनि सक्छ ।’ उनले कांग्रेसले जहिल्यै मन्त्री पठायो, त्यही समयमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । थपे, ‘नेपाली कांग्रेसले जहिल्यै मन्त्री पठाउँछ, त्यहीबेला सरकार विस्तार हुन्छ । तर, मन्त्रालय थप्ने पक्षमा सरकार छैन ।’
केही दिनअघि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रालय संख्या बढ्न सक्ने संकेत गरेका थिए ।
संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेश सभाबाट तेस्रोपटक वैशाख २७ गते कार्की पुनः मुख्यमन्त्री बनेका हुन् ।
कोशीमा यसअघि नै कांग्रेसले चार मन्त्रालय पाउने सहमति भइसकेको छ । भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय हाल मन्त्रीविहीन छन् । प्रदेश सरकारको दोस्रो कार्यकालमा पहिलो मुख्यमन्त्री बनेका उनै कार्कीले १३ मन्त्रालयबाट घटाएर ९ मन्त्रालय बनाएका थिए ।
Discussion about this post