कृष्ण अधिकारी/भोजपुर : भोजपुर जिल्लाको उत्तरमा रहेको तत्कालिन थुम दिङ्ला, अर्थात् आजको षडानन्द नगरपालिका एउटा ऐतिहासिक ठाउँ हो । पश्चिममा दाङसम्म र पूर्वमा भारतको असम र भुटान देश सम्म शिक्षाको किरण फैलाउने ठाउँ पनि दिङ्ला नै हो ।
काठमाण्डौँ उपत्यकामा दरबार हाइस्कूल स्थापना भएको थियो । तर, त्यसमा राणा र शाहका छोराछोरी मात्र पढ्न पाउथें ।
त्यसबेला जनताका छोराछोरी पढ्ने स्कूल थिएन । स्कूल थिएन मात्र होइन, शासकहरूले स्कूल खोल्न दिँदैन थिए । पढ्नु पढाउनु पनि शासकको दृष्टिमा अपराध जस्तै थियो । कोही घरबार त्यागेर काँशी गएर विद्या आर्जन गर्थे । कोही धनीमानीका छोराहरू काँशी गएर पढ्थे ।
आफूले पढेको कुरा धेरै चर्चामा ल्याइदँैन थियो, शासक रिसाउछन् भनेर । धेरै जानेको छु भन्ने समय थिएन, त्यो । त्यसैले सबै विद्या कर्मकाण्डमा नै सीमित थियो ।
सोही कालखण्डमा वि.सं. १९३२ मा औपचारिक रूपमा षडानन्द पाठशाला खुलेको थियो । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको साधना, तप र सिद्धिबाट राणा शासकहरू प्रभावित भए, त्यसैकारण पाठशाला खोल्ने षडानन्दको आग्रह टार्न सकेनन् ।
उनी भएर मात्र त्यो पाठशाला खोल्न सम्भव भएको थियो । षडानन्द पाठशालाको पढाईको स्तर काँशीको बराबर मानिन्थ्यो ।
त्यसैले पूर्वमा भुटान र असमदेखि दाङ सम्मका विद्यार्थीहरू पढ्न दिङ्ला आउथे । सीताराम गुठी स्थापना गरी त्यसको आम्दानी खर्च गरी बाहिरबाट आएका विद्यार्थीहरूलाई खान बस्न र शिक्षकलाई तलबको व्यवस्था गरिएको कुरा ऐतिहासिक ताम्रपत्रहरूबाट थाहा हुन्छ ।
पाठशाला स्थापनापछि षडानन्दले मठ मन्दिरको स्थापना गरेको पाइन्छ । मूलतः सीता रामको मन्दिर र शिव लिङ्ग स्थापना भएका थिए । करिब डेढ सय वर्षअघि बनेको त्यही मन्दिर जीर्ण भयो र पुरातत्व विभागले पुनः निर्माण गर्ने भयो ।
पुनः निर्माणको क्रममा आजभन्दा करिब दुई वर्षअघि नारायण वडाल नाम गरेको मान्छेको निर्माण कम्पनीलाई पुरातत्व विभागले निर्माणको ठेक्का दियो । करिब ४० प्रतिशत काम भएपछि गत पौष २५ गतेदेखि निर्माणको काम रोकिएको छ ।
ठेकेदार पनि छैन, इन्जिनियर पनि छैन र पुरातत्व विभागको पनि उपस्थिति छैन । निर्माण किन रोकियो भन्ने कुरा स्थानीय सरोकारवाला कसैलाई थाहा छैन । बरु उनीहरू पत्रकारलाई आग्रह गर्छन् । ‘के कारण मन्दिरको काम रोकिएको हो, पत्ता लगाइदिनुहोस् ।’ भन्छन् ।
ठेक्काका सर्तहरूअनुसार ‘सुर्की चुना प्रयोग गर्ने, गुम्वज आकारको मन्दिर निर्माण गर्ने, मन्दिरको चारै कुनाको बाहिर पट्टी सा–साना चारवटा मन्दिर बनाउनुपर्ने’ उल्लेख छ भनिन्छ ।
केही महिनाअघि ‘डीपीसी बिम’ नबनाएको र सिमेन्ट प्रयोग भएको भनी अख्तियारमा उजुरी परेको थियो । त्यस विषयमा अख्तियार, स्थानीय समाज र ठेकेदार बसेर समाधान खोजिएको थियो । जमिन मुनी ‘डीपीसी बिम’ नबनाएवापत अन्तिम हिसाब गर्दा ठेकेदारले पाउने हिसाबबाट कट्टा गर्ने भन्ने सहमति भएको थियो ।
निर्माणस्थलमा निर्माण सम्बन्धी कुनै सूचना पाटी छैन । स्थानीय सरोकारवालालाई ठेक्का कतिमा लागेको थियो ? कहिले सम्पन्न हुने हो ? त्यो पनि जानकारी छैन । काम किन रोकियो ? भन्दा ‘करारका इन्जिनियरहरू भागे त्यसैले रोकियो’ भनिदोँरहेछ । कहिले भनिन्छ रे, ‘त्यो प्रोजेक्टको फायल नै हरायो, त्यसैले ।’
६० प्रतिशत काम बाँकी देखिने त्यो निर्माणको भुक्तानी हुन बाँकी रकम चाँही १५ लाख मात्र बाँकी रहेको बताइन्छ । यदि यो जानकारी सही हो भने पुरातात्विक महत्वको ऐतिहासिक सीताराम मन्दिर निर्माणमा ठूलै अनियमितता भएको ठहर्छ ।
निर्माणाधीन मन्दिरभित्र असुरक्षित अवस्थामा शिवलिङ्ग राखिएको छ । राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरू साँगुरो कोठामा बन्दी छन् । श्रद्धालुहरू पूजा गर्न नपाएको गुनासो गर्छन् । विधिपूर्वक पूजा गर्न नपाएको पुजारीको गुनासो छ । मन्दिरको निर्माण किन रोकियो ?
काम नसकी किन भुक्तानी गरियो ? यस्ता धेरै प्रश्नहरू पुरातत्व विभागतिर सोझिएका छन् । र, प्रश्नको उत्तर दिनबाट विभाग पन्छिन पाउँदैन ।
Discussion about this post