भानुभक्त निरौला
सोलुखुम्बु :थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा १२ घर, एउटा स्कुल र क्लिनिकमा क्षति भएको छ भने एक जना स्थानीय बेपत्ता भएका छन् ।
ती घरहरू कोही पुरिएर र केही बगाएर क्षतिग्रस्त भएका हुन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासि पानीको बहाव बढ्दा थामे १२ घर ९होटेल सहित० बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताए । डिएसपी घिमिरेका अनुसार स्थानीय एक जना बाढीमा परि बेपत्ता भएका छन् । दिउसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन ।
घटना स्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको प्रजिअ देवी खत्री पाण्डेले जानकारी दिइन् । उनका अनुसार दुधकोशी नदिको तल्लो तटीय क्षेत्र भने खतरा मुक्त रहेको छ ।
थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए ।
सिङ्गो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा दुवै प्रभावित बनेको छ । क्षतिबारे बुझ्न काठमाण्डौमै रहेको पालिका अध्यक्ष मिङ्मार छिरि शेर्पा लगायतका जनप्रतिनिधिको टोली अनुकूल मौसमको पर्खाइमा त्रिभुवन विमानस्थलमा रहेका छन् ।
बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको हो ।
Discussion about this post