तरहरा : तरहरा फुटसलको उपाधि स्काइ पावरले चुमेको छ । शुक्रबार इटहरी २० तरहरा फुटसलमा आयोजित फाइनल खेलमा इटहरीको स्काइ पावरले उपाधि चुमेको हो ।
फाइनल खेलमा द वे धरानलाई पराजित गर्दै स्काइ पावरले एक लाख रुपैयाँ हात पारेको छ । तरहरामा रहेको मर्निङ फुटसल क्लबले आयोजना गरेको प्रथम तरहरा मर्निङ फुटसल प्रतियोगिताको उपाधि सँगै विजेताले नगद एक लाखसहित ट्रफी र मेडलसहित हात पारेको छ । यसैगरी धरानको द वे क्लबले भने ५० हजारमा चित्त बुझाएको छ ।
सम्पन्न फाइनल खेलमा द वेलाई २ का विरुद्ध ४ गोलले हराउँदै स्काइ पावरले उपाधि हात पारेको हो । राष्ट्रिय स्तरको प्रतियोगितामा सुनसरी, मोरङ, झापा र काठामाडौँबाट २६ वटा टिम सहभागी थिए । प्रतियोगिताका विजेता तथा उपबिजेताहरूलाई इटहरी २० का वडाध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि मणिराम श्रेष्ठले नगद र ट्रफी हस्तान्तरण गरेका थिए । वडाध्यक्ष श्रेष्ठले खेलकुद क्षेत्रमा वडाले सकारात्मक काम गरेको र आगामी दिनमासमेत आफूहरूले युवा र खेलकुदको क्षेत्रमा काम गर्ने बताए ।
प्रतियोगितामा स्काइ पावरमा पदम तामाङ वेस्ट किपर घोषित भएका छन् । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे । यसैगरी स्काइ पावरकै अभय राणा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले सो उपाधिसँगै नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे ।
स्वास्थ्यमा सचेत हुनसँगै यहाँका युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति उक्त प्रतियोगिता आयोजना गरेको आयोजक कमिटिका अध्यक्ष चन्द्रकाजी गुरुङ (कालु)ले जानकारी दिए । यस्तै खेल संयोजक सन्तोष श्रेष्ठले प्रतियोगिताबाट बचेको रकमले तरहराको पानीपियास्थित शव दाह गृह नजिकै खानेपानीको धारा जडान गरिने बताए ।
श्रेष्ठले भने, ‘प्रतियोगिताबाट उब्रिएको रकमले खानेपानीको धारा जडान गर्दा मलामीका लागि धेरै सहज हुनेछ ।’ साथै, उक्त प्रतियोगिताको अवसर पारेर खेलकुदको माध्यमबाट तरहरालाई देशव्यापी रूपमा चिनाउन भूमिका खेल्ने खेलाडीहरूलाई सम्मानसमेत गरिएको थियो ।
म्याराथुन धावक मीनकुमार खवास,सितरियो करातेका राष्ट्रिय प्रशिक्षक मनकुमार राई,तेक्वान्दोका प्रशिक्षक कुमार गुरुङ,राष्ट्रिय म्याराथुन धावक शिव रुम्जाली राईलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान समेत गरिएको थियो । खवास र राई भने तरहरा रनका संस्थापक र वर्तमान अध्यक्ष समेत हुन । उनीहरूले तरहरा साइक्लिङको स्थापना गरी सफल बनेका छन् ।
Discussion about this post