काठमाडौं । निष्ठाका साथ अविचलित यात्रालाई निरन्तरता दिन सके ढिलै भए पनि एक दिन गन्तव्यमा पुगिन्छ भन्ने उदाहरण बनेका छन् नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल ।
आफू सँगैका साथीहरु देशको कार्यकारी प्रमुखको जिम्मेवारीमा पटक पटक पुगे पनि पछाडि नै रहेका पौडेल अब उनीहरुभन्दा माथि पुग्ने करिब निश्चितजस्तै भइसकेको छ ।
राजनीतिक समीकरणमा कुनै उथलपुथल नआए उनी अबको नौ दिनपछि मुलुकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने दायित्वका साथ राष्ट्र प्रमुखको जिम्मेवारीमा हुनेछन् ।
पौडेलका समकालीन शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । राजनीतिमा लागेपछि खासगरी मुलुकको कार्यकारी प्रमुख हुने इच्छा हुन्छ नै । गणतन्त्र आइसकेपछि अब जनताका छोरा, छोरी राष्ट्र प्रमुख बन्ने अवस्था आइसकेको छ ।
निरन्तर निष्ठापूर्ण राजनीतिमा लागिरहँदा सभामुख र उपप्रधानमन्त्रीसम्म बन्न भ्याएका तिनै पौडेल अब चौथो कार्यकालका लागि नेपालको तेस्रो राष्ट्रपति बन्ने छन् ।
नेपाली कांग्रेसका दिवंगवत अग्रज नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, र गिरिजाप्रसाद कोइराला पछिका वरिष्ठ नेताहरुमा देउवा, सुशील कोइराला र पौडेल हुन् । तीमध्ये पनि वैचारिक रुपमा अडान राख्न सक्ने नेताका रुपमा चिनिएका पौडेल हुन् ।
कार्यकर्तामा पकड र तत्कालीन पार्टी सभापतिहरू कोइराला र भट्टराईले अवसर दिंदा देउवाले प्रधानमन्त्री बन्ने मौका पाएका थिए । पछि पार्टी देखिएको अन्तरविरोध अनि आफ्नै राजनीतिक चतुरपनाका कारण देउवाले पटक पटक प्रधानमन्त्री हुने अवसर पाए ।
एकपटक तत्कालीन राजा ज्ञानेन्द्रको राजनीतिक बाध्यताका कारण प्रधानमन्त्री बने भने अर्को एक पटक संविधान बनेपछि माओवादी केन्द्रसँग आलोपालोको सहमतिमा बन्न सफल भए ।
तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्दा अदालतले उनको उक्त कदमलाई गलत साबित गरेपछि बनेको परिस्थितिमा देउवा पाचौंपटक प्रधानमन्त्री बने । त्यसबेला उनलाई माओवादी केन्द्रसहितको समर्थन थियो ।
दोस्रो संविधानसभापछि संविधान जारी गर्दासम्म सुशील प्रधानमन्त्री भए । पार्टी सभापति पनि भएकोले उनी प्रधानमन्त्री हुनु स्वाभाविक थियो । कोइराला ‘लिगेसी’ को परम्पराले सुशील सभापति बनेका थिए ।
पहिलो संविधानसभामा माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजिनामा दिएपछि कांग्रेस संसदीय दलको नेता चुनिएर संविधानसभाभित्र बहुमत सावित गर्न २०६६ सालमा १६ पटकसम्म चुनाव लड्दा पनि पौडेल प्रधानमन्त्री बन्न सकेनन् ।
संसदको अंकगणितीय अवस्था नै असहज भएकाले त्यस बेला पटक पटक प्रधानमन्त्रीका लागि निर्वाचन गर्नु परेको थियो । प्रक्रिया अवलम्बन गर्नुपर्ने बाध्यताले १६ पटकसम्म निर्वाचन भएको थियो ।
त्यसरी पार लाग्ने अवस्था नभएपछि नयाँ प्रक्रियाअनुसार माओवादीको समर्थनमा तत्कालीन एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री भए । पौडेल पराजित भए । त्यसपछि डा। बाबुराम भट्टराई प्रधानमन्त्री भए । त्यस बेला पनि पौडेल पराजित भए ।
त्यस बेलाको प्रधानमन्त्री निर्वाचन र पौडेलले १६औं पटकसम्म हार ब्यहोर्नु परेको कुरालाई धेरैले ठट्टाका रुपमा लिएर उनको आलोचना पनि गरे । अब उनको राजनीतिक भविष्य सकियो भनेर टिप्पणीहरु पनि गरिए ।
निरन्तरताको अर्को नामका रुपमा स्थापित भइसकेका पौडेल भने निरास भएनन् । राजनीतिमा निरन्तर लागिरहे । लोकतन्त्र आएपछिको अन्तरिमकालमा शान्तिमन्त्री भएका पौडेल त्यसअघि गृहमन्त्री, सञ्चारमन्त्री र सभामुख भइसकेका थिए ।
राजनीतिक तालमेल, दलीय ध्रुवीकरण अनि कतिपय नेताहरुको दम्भका कारण अस्थिर बनेको मुलुकको अवस्थाका बीच अब फेरि सरकारको स्वरुप एकहदसम्म फेरिएको छ ।
तेस्रो राष्ट्रपति को बन्ने भन्ने विषयले एक ठाउँ भएका दलहरु छिन्नभिन्न हुन पुगे । पुराना सहकार्य गरेका दलहरु एकठाउँ आए । अब सरकार पुनर्गठनको दिशामा छ भने राष्ट्रपति को बन्ने भन्ने पनि लगभग निश्चित भइसकेको छ ।
राष्ट्रपतिका लागि कांग्रेसका पौडेलले उम्मेदवारी दिइसकेका छन् । उनको पक्षमा आठ दलीय गठबन्धन छ । एमालेबाट सुवास नेम्वाङ उम्मेदवार बनेका छन् । पौडेललाई कांग्रेससहित सत्तारुढ दल नेकपा माओवादी केन्द्रलगायत आठ दलको समर्थन प्राप्त छ ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य ५५० र ७ वटै प्रदेश सभाका सदस्य ३३२ गरी ८८२ मतदाता छन् ।
औपचारिक रुपमा मुलुकले फागुन २५ गते तेस्रो राष्ट्रपति पाउनेछ । तर गठबन्धनमा आबद्ध दलहरुको दरिलो साथ पाएकाले पौडेल नै नयाँ राष्ट्रपति निर्वाचिन हुने निश्चितजस्तै छ ।
पहिलो राष्ट्रपति रामवरण यादव र दोस्रो कार्यकालको उत्तराद्र्धतिर रहेकी विद्या भण्डारीको कार्यकाल विवादरहित हुन सकेन । तुलनात्मक रुपमा कम विवादमा परेको अनि सालिन राष्ट्रपतिका रुपमा यादवलाई मानिए पनि भण्डारीमाथि दलको प्रतिनिधि, गुट प्रेरित, स्वार्थप्रेरित भएको आरोप छ ।
यी निकट विगतबाट पाठ सिकेर राष्ट्रप्रमुख जस्तो संस्थाको गरिमा उच्च राख्ने अभिभारा पौडेलमाथि आउने भएको छ । राष्ट्रिय एकताको प्रतीक बन्दै मर्यादित र सम्मानित संस्था बनाउने जिम्मा अब उनैमा आउनेछ ।
प्रजातान्त्रिक संघर्षका क्रममा १४ वर्ष जेल जीवन बिताएका तनहुँका पौडेलको सभामुख र गृहमन्त्रीकाल कतिपय प्रसंगमा आलोचनामुक्त हुन सकेन । सभामुख हुँदा पार्टी पक्षधरताको आरोप लाग्यो ।
गृहमन्त्री भएका बेला ‘माओवादी निर्मल निवासबाट सञ्चालित छन्’ भन्ने आशयको अभिव्यक्ति दिएर उनी विवादमा तानिएका थिए । ती विवाद अबका दिनमा दोहोरिन नदिन उनले बुद्धिमतापूर्वक काम गर्नुपर्ने आवश्यकता देखिएको छ ।
शासकीय आलोचनाका बाबजुद प्रजातान्त्रिक समाजवादको व्याख्याताको रूपमा कांग्रेसभित्र र कांग्रेस बाहिर पौडेलको राम्रो प्रभाव छ । उनलेसमाजवादसँग सम्बन्धित एक दर्जन पुस्तक पनि प्रकाशन गरेका छन् । यसले पनि उनको बौद्धि पाटो बुझ्न सकिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा अथक रुपमा सक्रिय रहेका पौडेल माओवादी ‘जनयुद्ध’ लाई राज्य पुनर्संरचनासहित शान्ति प्रक्रियामा रुपान्तरण गर्ने काममा पनि उत्तिकै सक्रिय भएर लागेका थिए ।
पार्टीको अघिल्लो महाधिवेशनमा देउवासँग सभापति पदका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्दा पराजित भएका पौडेलले अघिल्लो संसदीय निर्वाचनमा पनि असफलता ब्यहोरेका थिए । त्यसपछि पनि उनले राजनीतिक सक्रियतालाई निरन्तरता दिइरहे ।
पछिल्लो महाधिवेशनमा भने प्रतिस्पर्धी भएनन् । मध्यमार्गी भएर प्रस्तुत भएका उनलाई कोइराला ‘लिगेसी’ विपरीत देउवालाई उनले सहयोग गरेको भन्ने आरोप पनि लागेको थियो ।
ओलीले संसद पटक पटक विघटन गरेकामा प्रखर विरोध गरेका पौडेलले त्यसविरुद्ध जनमत बनाउन मेहनत गरे । प्रतिगमनविरुद्ध आन्दोलनको आवश्यकतालाई उनले अरुले भन्दा बढी उजागर गरे । माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित देउवालाई पनि प्रतिगमनविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने अवस्थामा पुर्याए ।
पछिल्लो पटक देउवालाई प्रधानमन्त्री बनाएर अघि जाने कुरामा पनि पार्टीभित्र उनैले वातावरण बनाए । महाधिवेशनमा देउवासँग सभापति निर्वाचनमा पराजित शेखर कोइराला, महामन्त्री गगन थापा लगायतको इच्छाविपरीत पौडेल र उपसभापति पूर्णबहादुर खड्कासहितको प्रयासमा जोडमा स्थानीय तह चुनाव, संघीय र प्रदेश निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धन बन्न सकेको हो ।
पर्याप्त नभए पनि अरु दलको सहयोग लिएर लोकतान्त्रिक–बाम गठबन्धनले सरकार चलाउन सक्ने अवस्थामा पुग्यो । अघिल्लो पटक पराजित भएका पौडेल पनि भारी मतले तनहुँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
चुनावी गर्दाका बेला कांग्रेसले सरकारको नेतृत्व गरेकाले त्यसपछि माओवादी केन्द्रले सरकारको जिम्मेवारी सम्हाल्ने सहमति दलीय गठबन्धनमा भएको थियो । तर राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष ओलीको आश्वासनमा पर्दा अवस्था अर्कै बन्यो ।
कुनै पनि दलले स्पष्ट बहुमत नपाएर अलमलमा परेजस्तो बनेको राजनीतिक परिदृश्यबीच देउवाले प्रचण्डलाई, ओलीले देउवालाई ‘धोका’ दिँदा प्रचण्ड नै प्रधानमन्त्री हुने परिस्थिति बन्यो । त्यो सन्दर्भलाई प्रष्ट वक्ता पौडेलले देउवाले प्रचण्डलाई धोका दिएको भनेर इमान्दारीसाथ सार्वजनिक अभिव्यक्ति दिए ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा फेरि लोकतान्त्रिक–बाम गठबन्धन बलियो बनेको छ । निर्वाचनभन्दा अघिको अवस्था भन्दा अझ शक्तिशाली बनेको छ ।
अबका दिनमा राष्ट्र प्रमुखको जिम्मेवारी काँधमा लिँदा पहिलेका सबै राजनीतिक जोड घटाउ, दाउपेच अनि दलीय स्वार्थलाई बिर्सन सके पौडेलको राजनीतिक जीवनको सबैभन्दा ठूलो उपलब्धि ‘राष्ट्रपति’ पदका साथै उनी स्वयंको ओज चम्किलो हुनेमा दुई मत छैन ।
Discussion about this post