इटहरी : सुनसरी, मोरङ, झापा, उदयपुर र संखुवासभाबाट लागूऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका ८ स्थित अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले को २० प १८८ नम्बरको मोटरसाइकललाई चेकचाँच गर्दा चालक खाँदबारी नगरपालिका २ का ४४ वर्षीय रोशन ओझाले हेल्मेटभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा लागूऔषध ब्राउनसुगर २१ ग्राम २४० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यसैगरी विराटनगर १५ स्थित लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ३८ मिलिग्राम ब्राउनसुगरसहित इटहरी १० का ३९ वर्षीय राजन बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका १ बाट २५ वर्षीय विशाल राईलाई १९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
यसैगरी धरान उपमहानगरपालिका १५ स्थित अस्थायी प्रहरी पोष्ट नयाँ वसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल १९२ क्याप्सुल बेचबिखान गरिरहेको अवस्थामा फेला पारी अर्जुन थापा, २२ वर्षीय सनम राई, १८ वर्षीय विविक थापा र युवराज लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उता, प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ उदयपुरका १८ वर्षीय हुमन कार्की, १८ वर्षीय सम्बीर सुयल र अमृत नेपालीलाई बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post