विराटनगर । कोशी प्रदेशमा दुई सातापछिका लागि प्रदेशसभा बैठक (संसद) आह्वान गरिएको छ ।
बजेट पारित गरेपछि गत असार ८ गतेबाट संसद बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १८ गते दिउँसो १ बजेलाई संसद बैठक बोलाइएको सूचना जारी गरेका छन् ।
लामो समयदेखि स्थगित रहेको बैठक बोलाउन प्रतिपक्षीसहित सत्तारुढ दलका सांसद (प्रदेशसभा सदस्य)ले दबाब दिएका थिए । दबाब बढेपछि सभामुख अम्बरबहादुर विष्ट संसद बैठक बोलाउन बाध्य भएका हुन् । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अनुकूल हुने गरी दुई सातापछिको समय राखेर बैठक बोलाएका छन् ।
मुख्यमन्त्री कार्कीमाथि संसदलाई बन्धक बनाएको आरोप लाग्दै आएको छ । प्रदेशसभाको पाँचौं अधिवेशनको तेह्रौं बैठक बसेर स्थगित संसदका चौधौं बैठक बोलाउन निक्कै समय लाग्नुले पनि आरोपको पुष्टि हुन्छ । नेपाली कांग्रेस संसदीय दलका नेतासँगको सल्लाहमा मुख्यमन्त्री कार्कीले जनताको आवाज उठाउने थलो संसदलाई स्वार्थपूर्ण हिसाबले बन्धक बनाइदिएका थिए ।
मुख्यमन्त्रीका कारण संसद बन्धक बनेपछि प्रतिपक्षीले विरोध गरेका थिए । सत्तारुढ दलका सांसदले समेत असन्तुष्टि पोखेका थिए । दुइतिहाई बहुमत सरकारको छायाँमा प्रदेशसभा परेको भन्दै प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ नेकपा (एमाले) र कांग्रेसका सांसदले विरोध गरेका हुन् ।
कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी मुख्यमन्त्री कार्कीले गरिरहेको बताइन्छ । यद्यपि, उनले मन्त्रालयको संख्या नबढाउने बताउँदै आएका छन् । कार्कीले कांग्रेसहितको सरकार विस्तारपछि मात्रै संसद बोलाउन सभामुखलाई दबाब दिएका थिए । सभामुखले पनि उनैलाई सहज हुने गरी बैठक बोलाइदिएका हुन् ।
कांग्रेसले कार्की नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, भागबन्डाकाो किचलोमा फसेको कांग्रेसले हालसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । सरकार विस्तार नहुँदाको असर संसदले झेलिरहेको थियो ।
संसद बस्न नसक्दा प्रदेशसभामा यसअघि दर्ता भएका विधेयकहरु अलपत्र परेका थिए । प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा टेवल गरेको थियो ।
संसद बैठक नबस्दा विधेयकमाथिको छलफल अघि बढेको थिएन । लामो समयदेखि संसद बस्न नसकेर विधेयकहरु अलपत्र पर्दा पनि बैठक बोलाइएको थिएन । मुख्यमन्त्री कार्कीले केही दिनअघि कांग्रेसले आग्रह गरेका कारण संसद बैठक रोकिएको बताएका थिए । उनको कुराले पनि कांग्रेससँग मिलेर मुख्यमन्त्रीले नै संसदलाई बन्धक बनाइदिएको स्पष्ट हुन्थ्यो ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई सरकार विस्तारपछि बैठक बोलाउन आग्रह गरेको बताएका थिए । सरकार विस्तारका लागि माथि (केन्द्रमा) छलफल चल्दैछ गरेका कारण बैठक केही दिनपछि बोलाउँदा हुन्छ भनेर आफूहरुले मुख्यमन्त्रीलाई भनेको उनले बताएका थिए ।
Discussion about this post