विराटनगर : मोरङको रंगेली नगरपालिका–५ भेरुवाथानस्थित पोखरीमा डुबेर मंगलबार (आज) दिउँसो एक जना नाबालकको मृत्यु भएको छ । अर्का नाबालक घाइते भएका छन् ।
मृत्यु र घाइते हुने नाबालकहरू एउटै परिवारका दाजुभाइ हुन् । मोरङको कटहरीका उनीहरू मामाघरनजिकको पोखरीमा डुबेका थिए । डुबेकामध्ये भाइको मृत्यु भएको र दाजु घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार कटहरी गाउँपालिका–५ घर भएका रञ्जीत ठाकुरका छोराहरू २ वर्षीय नीरज र ६ वर्षीय मनीष ठाकुर रंगेलीस्थित मामाघर गएका थिए ।
उनीहरूलाई मामाघरको पछाडि रहेको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो १२ बजेतिर फेला पारिएको बस्नेतको भनाइ छ । दुवै जनालाई घाइते अवस्थामा उद्धार गरेर प्रहरीले उपचारका लागि रंगेली अस्पताल लगेको थियो ।
अस्पताल पुर्याउनसाथ भाइ नीरजलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
रंगेलीमा सम्भव नभएपछि दाजु मनीषलाई थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । प्रहरीका अनुसार मध्यम अवस्थाका मनीषको स्वास्थ्य सुधारोन्मुख छ ।
नाबालक दाजुभाइ पोखरीमा कसरी डुब्न पुगे भन्ने यकिन छैन ।
यद्यपि, खेल्ने क्रममा त्यहाँ पुगेको र पोखरीमा खसेर डुबेको हुनसक्ने प्रहरीको आशंका छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post