इटहरी : सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । दुईदिनअघि (भदौ ३)मा सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थानीय ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो ।
टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नको खोजी गरिएको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरिएको हो ।
उनले कोदालो (फरुवा)ले पटकपटक प्रहार गरी टाउको छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा प्रहरीले कुकुरसहित अनुसन्धान सुरू गरेको छ । प्रहरीकाअनुसार ज्ञानचन्दले भाडामा सञ्चालन गर्दै आएको रिङ उद्योगभित्र रहेको टिनको टहरामा चन्दन राति सुत्दै आएका थिए ।
तर, ज्ञानचन्दले त्यहाँ सुत्न नदिएपछि रिसाएका चन्दनले राति निदाएको बेलामा फरुवाले घाँटी काटेर ज्ञानचन्दको हत्या गरेर टाउको अन्तै लगेर फालिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
टहरामा सुत्न नदिएको झोंकमा सोमबार राति ज्ञानचन्दको क्रूरतापूर्वक हत्या गरेपछि घटनास्थलमै रहेका चन्दनले लगाएको लुगामा रगतको टाटा देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा हत्याको कारण खुलेको थियो ।
प्रहरीका अनुसार हत्या आरोपी चन्दन लागूऔषधसमेत सेवन गर्ने गरेको खुलेको छ ।
पक्राउ परेका उनीमाथि जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
Discussion about this post