टीका खतिवडा/ इलाम : इलामको मङ्गलबारेमा रोपाइँ जात्रा निकालिएको छ । परम्परागत रूपमा निकालिँदै आइएको जात्रा यस वर्ष पनि निकालिएको हो । देउमाई नगरपालिका स्थित मङ्गलवारे बजारमा बुधवार हटिया लाग्ने गरेको छ ।
हटियाको दिन नै यहाँ रोपाई जात्रा निकालिएको हो ।
रोपाइँ जात्रामा अघि–अघि पञ्चै बाजा, सहित पछि बाउसे र रोपाहार हुन्छन् । नयाँ अनि चिटिक्क गरेको सारीमा रोपाहार त कोट, पाइन्टमा सजिएका बाउसे हुन्छन् ।
सारी चोली अर्थात् बेहुलीको भेष धारण गरेर रोपाहार त बेहुलाको भेष धारण गरेर बाउसे निस्किन्छन् । विभिन्न जनजातिका पोशाकमा सजिएका युवायुवतीले रोपाहार र बाउसेको अभिनय गर्दै मङ्गलबारेमा रोपाई जात्रा निकालिने गरिन्छ ।
पञ्चैबाजाको तालमा सङ्गीतमय रोपाइँ गर्दै मनाइने यो पर्व जिल्लाका विभिन्न ठाउँहरूमा मनाइने गरिन्छ । इलामको देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा यस्तै गरेर धूमधामका साथ यो पर्व मनाइयो । ५० वर्ष अघिदेखि मनाउन सुरु गरिएको यो पर्व जनै पूर्णिमा पछिको बुधवार लाग्ने हटियाको अवसरमा मनाइने गरिन्छ ।
स्थानीय भानुभक्त माविले आयोजना गरेको यो जात्रामा विभिन्न किसिमका मौलिक परम्परा र जातीय झाँकी प्रदर्शन गर्ने गरिन्छ ।
भानुभक्त माविको आयोजनामा २०१८ सालदेखि यो पर्व मनाउने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र खनालले बताए ।
उनका अनुसार बिचमा भएको द्धन्दका समयमा एक वर्ष जात्रा निकाल्न सकिएन ।
किसानले रोपाइँ सकेपछि फुर्सदको समयसँगै रमिता हेरेर थकान मेटाउन समेत रोपाई जात्रा निकालिने गरिएको जानकारहरू बताउँछन् ।
वास्तविक किसानले हटियाको दिन मङ्गलवारे बजारमा रोपाइँ जात्राको अवलोकनपछि आफूहरूले बर्खामा गरेको दुःख भुल्न समेत यसले मद्दत गर्ने गरेको किसानहरूको भनाइ छ ।
पञ्चै बाजाको तालमा रोपाहार र बाहुसेले बजार बिचमा रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ । मङ्गलबारेमा निकालिने रोपाइँ जात्रा विशिष्ट किसिमको हुने भएकाले आन्तरिक पर्यटकहरूको समेत उल्लेख्य उपस्थिति रहन्छ ।
सुरुमा विद्यालयको स्थिति नाजुक रहेको अवस्थामा रकम जुटाउन र शिक्षकलाई तलब खुवाउनका लागि सहयोग सङ्कलन गर्न जात्रा निकाल्न थालिएको विद्यालयमा पूर्व प्रधानाध्यापक तथा हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले बताए ।
उनले हाल विद्यालयको अवस्था राम्रो रहेको र संस्कृतिको जगेर्ना गर्न रोपाई जात्रा निकालिएको बताए ।
विद्यार्थीहरूले रोपाहार, बाहुसेलगायत साधु, जोगी, मुङ्ग्रे, सहित जातीय झाँकी प्रदर्शन गर्ने गर्दछन् । लोप हुन लागेको बेठी समेत प्रस्तुत गरिन्छ । रोपाइँ जात्रामा मङ्गलबारेका उद्योगी, व्यवसायी, स्थानीय सङ्घसंस्था लगायतले साथ दिँदै आएका छन् ।
सङ्गिनी, बालन लगायतका संस्कृति झल्कने विभिन्न प्रस्तुतिले यहाँको वातावरण सङ्गीतमय बन्छ । साथै विभिन्न लोक भाका सहित बजारमा देउसीभैली झैँ घरघरमा गीत गाउने चलन समेत छ ।
शिक्षक प्रमोद रिजालका अनुसार रोजाई सँगै धेरै विधामा कलाकारले अभिनय प्रस्तुत गरेका छन् । यहाँको रोपाइँ जात्रा हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट स्थानीयको घुइँचो लाग्ने गरेको छ ।
एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँ जात्रा भव्यता रूपमा मनाइने गरिन्छ । जात्रा इलाम बजारमा भने बिहीबार निकालिने गरिन्छ ।
जनै पूर्णिमापछि आउने पहिलो बिहीबार यहाँ रोपाइँ जात्रा निकालिने गरिएको छ । राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि. सं. १९७२ मा सुरु गरेको रोपाइँ जात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाइमा निकालिन्छ ।
यसले जिल्लाको पर्यटन प्रवर्द्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पुर्याउँदै आएको छ । नेवार समुदायमा गठेमङ्गले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास छ ।
इलाम कला–संस्कृतिको धरोहर भएकाले युवापुस्तामा कला संस्कृति जगेर्ना गराउन सिकाउने उद्देश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइँ जात्रा सञ्चालन भइरहेको छ ।
जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरूका विद्यालयहरूमा बिहीबार बिदासमेत दिइने गरिन्छ । रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपाहारले धान रोपेझैँ गरेर यो जात्रा मनाइन्छ ।
नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहन्छ ।
त्यस्तै इलामको माइजोगमाईको नामसालिङ र देउमाई नगरपालिकाकै जितपुर माई नगरपालिकाको शुक्रबारे बजारमा पनि यो जात्रा निकालिने गरेको छ ।
यस जात्रालाई हिले जात्रा पनि भन्ने गरिन्छ । इलाम बजारमा हुने जात्राका अवसरमा इलाम नगरपालिकाले स्थानीय बिदा समेत दिएको छ ।
Discussion about this post