धरान । विराटनगर–२० का ७२ वर्षिय सुखारी पाल महिनौ दिनदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्डमा उपचाररत छन् ।
उनले आफु १० महिनादेखि अस्पतालमा बसेको बताउछन् । गरिबीका कारण औषधी किन्ने पैसा नहुँदा आफ्नो रोग निको नभएको र रोग निको नभएपछि आफु अस्पतालमा नै बस्नुपरेको बताउछन् । उनी भन्छन् –‘उमेर छउन्जेल बनि बुतो गरेर खाए, अहिले बिरामी छु, काम गर्न पनि सक्दिन ।’ आफुलाई दमको रोग लागेको र अलिकति पनि सन्चो नभएको उनी बताउछन् ।
अस्पतालकी नर्सका अनुसार उनलाई दम मात्र नभइ अन्य पनि धेरै समस्या रहेको छ । घर परिवार आफन्तजन कोही नभएको बताउने उनी बिरामी पर्नुभन्दा २ महिना अघि विपिको गेट अगाडी होटलमा काम गरेको बताउछन् । उनी भन्छन् ‘मेरा दुई भाइ छोरा थिए । एउटा सानैमा वित्यो, अर्काे बेपत्ता भएको १८/२० वर्ष भयो ।’ उनकी श्रीमती पनि पहिल्यै सुत्केरी हुँदा बितेको बताउछन् । पहिलो आफु बिराटनरमा रिक्सा चलाउने काम गरेको र रिक्सा चलाउन नसक्ने भएपछि आफु घोपा क्याम अगाडी होटलमा भाडा माझ्न थालेको बताए ।
नागरिकता छैन, भत्ता पनि आउदैन
नेपाल सरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन्छ । तर उनको नागरिकता नुहँदा भत्ता पाउनबाट पनि बञ्चित भएको बताउछन् । उनी भन्छन् ‘खै मेरो त नागरिकता छैन, नागरिकता भए त भत्ता पनि आउथ्यो होला । कता गएर नागरिकता बनाउनु, कसले बनाइदिन्छ थाहा छैन, मर्ने बेला भइसक्यो अब किन पो चाहियो ?’ उनी भन्छन् –‘बरु कतैको बृद्धाश्रममा गएर बस्न पाए हुन्थ्यो ।’ यहाँ (अस्पतालमा) जस्तो दुःख त हुन्थेन होला ।
Discussion about this post