विराटनगर : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुलभूत मान्यतामा कुनै असर नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले राजनीतिक स्थायित्व आउने गरी निर्वाचन प्रणालीमा सुधार गर्न पनि संविधान संशोधन आवश्यक रहेको उल्लेख गरे । उनले राजनीतिमा आइरहने उतारचढावका कारण मुलुकको विकास र समृद्धिमा अवरोध आइरहेको चर्चा गर्दै भने, “सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ ।”
गच्छदारले संविधान संशोधन गर्दा समानुपातिक र समावेशी प्रतिनिधित्व हटाउने कुरा गलत अफवाह भएको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन हुनुपर्ने जिकिर गरे । उनले छुट्टै आयोग बनाएर संविधान संशोधन गर्नुभन्दा संसदीय समिति बनाएर संविधान संशोधन गर्दा उपयुक्त हुने धारणा व्यक्त गरे ।
फरक प्रसङ्गमा नेता गच्छदारले २०७९ को निर्वाचनको परिणाम आएपछि नै आफूले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने धारणा व्यक्त गरेको र दुई ठूला दल मिल्दा मुलुकमा राजनीतिक स्थिरता आउने र विकाससँगै समृद्धिको यात्रा पूरा हुने दाबी गरे ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितको मोर्चाले मुलुकमा ठूलठूला परिवर्तन गरेको बताउँदै वर्तमान संविधानलाई परिमार्जित र परिष्कृत बनाउन पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।
Discussion about this post