विराटनगर । विराटनगरमा भारतीय कारबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ ।
भारतीय नम्बर प्लेटको कारमा राखेर विराटनगरको बाटो हुँदै भारततर्फ कटाउन खोजिएको ७२ किलोग्राम गाँजा प्रहरीले आइतबार बिहानका राति बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले गाँजा लोड गरिएको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भारतीय कारमा राखेर भारत कटाउन खोजिएको गाँजा विराटनगर महानगरपालिका–१८ बाट बरामद गरिएको जानकारी दिए । कारलाई रानीबाट भेडियारीतर्फ जाँदै गर्दा बिहान २ः३० बजेतिर आईसीपी सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको बस्नेतको भनाइ छ ।
प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक भागेका थिए । फरार रहेका चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले कार खानतलासी गर्दा डिकीबाट गाँजा बरामद भएको हो ।
चालक फरार भए पनि कार रोकेको स्थाननजिकै बसिरहेका ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजक पक्राउ परेका हुन् । उनीहरु गाँजा ‘रिसिभ’ गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको डीएसपी बस्नेतले बताए ।
भारत कटाउने योजनासहित गाँजा ल्याइएको प्रहरीको भनाइ छ । ‘तत्काल बरामद गर्न नसकेको भए भारत कटाउने रहेछन्,’ बस्नेतले भने । नियन्त्रणमा लिइएको कारसहित बरामद भएको गाँजा र पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Discussion about this post