विराटनगर : इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्यमान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक थापाले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा साउन १७ गते शौचालय जाने क्रममा भागेर फरार रहेको घटनामा पक्राउ गर्न सफल भएका थिए ।
साउन २४ गते कैदीलाई मोरङको जहदा गाउँपालिका १ तारेगामास्थित नेपाल भारत सीमा नाका नजिकबाट फेला पारी नियन्त्रणमा लिन सफल भएको, लागू औषध ओसार पसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न सफल भएको, अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैया बराबरको समान बरामद गर्न सफल भएको बताइएको छ ।
थापाले विभिन्न मितिमा दुर्व्यसनीविरुद्ध आमाहरु कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका-१६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरी उत्कृष्ट कार्य सम्पादन गरेका थिए ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेशभरीबाट उत्कृष्ट प्रहरी कर्मचारीको छनौट गरी पुरस्कृत गर्दै आइरहेको छ ।
Discussion about this post