विराटनगर : जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइबर अपराध सम्बन्धी दुई दिने प्रशिक्षण दिएको छ ।
प्रविधिमा आएको विकासका कारण पछिल्लो समयमा बढ्दै गएको साइबर अपराधबाट विद्यार्थी र समाजलाई जोगाउने र यसको प्रभावलाई कमगर्ने उद्देश्यले क्याम्पसले तालिमको आयोजना गरेको हो ।
कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी निरीक्षक गुरूप्रसाद तिम्सिनाले साइबर अपराधको प्रभाव, यसको जोखिम, अनुसन्धान प्रक्रिया, कानुनी उपचार, बच्ने उपाय लगायत साइबर अपराधका बहुआयामिक पक्षका विषयमा प्रशिक्षण दिए ।
प्रशिक्षक तिम्सिनाले साइबर सुरक्षा सम्बन्धी भारतमा तालिम लिएका छन् । उनले महिला र बालबालिकाविरूद्ध हुने साइबर अपराध तथा अपराध अनुसन्धानमा अनुभव लिएका छन् ।
सामाजिक कार्यका व्यवहारिक विषय भएकाले क्याम्पसले विभिन्न विषयका विज्ञ प्रशिक्षकलाई अतिथि प्राध्यापकका रूपमा ल्याएर विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आएको छ । प्रशिक्षण कार्यक्रममा एम. एस. डब्ल्यु. तेसो सेमेष्टर, बी. एस. डब्ल्यु दोस्रो, तेस्रो, पाँचौं र छैठौं सेमेष्टरका विद्यार्थीहरूको सहभागिता थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य अन्तर्गत बी. एस. डब्ल्यु र एम. एस. डब्ल्यु अध्यापन गर्दै आएको छ ।
Discussion about this post