ताप्लेजुङ / सदरमुकाममा सोमबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गरे । सो गोल नै ताप्लेजुङ गोल्डकपको उपाधि हात पार्न पर्याप्त बन्यो ।
खेलको सुरुवाती अवस्थामा नै मोरङलाई एक गोलको अग्रता प्राप्त भएपछि खेललाई बराबरीमा लैजान सिराहाले निकै आक्रामक खेले पनि सफल बन्न सकेन ।
सगरमाथा यूथ क्लबले नगद पाँच लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपबिजाते बनेको सलहेश युवा क्लबले मेडल, प्रमाणपत्र र नगद दुई लाख ५० हजार ५५५ रुपियाँ ग्रहण गर्यो ।
यसै गरी सोमबार भएको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरी सगरमाथाका सौभाग्य राईले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपियाँ पुरस्कार पाए । यस्तै सगरमाथाकै गोलकर्तासमेत रहेका विजय भुजेलले सर्वश्रेष्ठ खेलाडीका रूपमा पुरस्कृत हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराईले ट्रफी, मेडल, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरे ।
प्रत्येक वर्ष लाखे जात्रा पर्वको अवसरमा लाखे जात्रा सञ्चालन समितिले आयोजना गर्ने प्रतियोगितामा यस वर्ष भारतको सिलिगुढी, नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, सुपर लिग खेलेको बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसहित आठ टोली सहभागी भएका थिए ।
विगत २०२९ सालदेखि विभिन्न नाममा खेलाइँदै आएको प्रतियोगिता गत वर्षदेखि भने ताप्लेजुङ गोल्डकपका नाम दिएर आयोजना गर्न सुरु गरिएको आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
Discussion about this post