विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिन्छ । यसवर्षको रथयात्रामा हजारौं भक्तजन सहभागी छन् । रथयात्राकै कारण विराटनगरमा आज मानवीय चहलपहल पनि अत्यधिक छ ।
विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिएको हो । रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गरेको छ ।
रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । यात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम गराइएको छ ।
विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा भएको दाबी गरिँदै आएको छ । यो विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको थियो । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो । आज निकालिएको रथयात्रा खटको ९३ औं र रथको ५६ औं संस्करण हो ।
Discussion about this post