काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले गणतन्त्र स्थापना भएपछि महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको दोस्रो वुमन लिडरसिप कन्क्लेभमा मन्त्री सुडीले गणतन्त्र स्थापनापछि महिलाहरूको सहभागिता र सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।
उनले संवैधानिक व्यवस्थाअनुसार नै गणतन्त्रमा केन्द्र, प्रदेश र स्थानीय तहमा महिलाको नेतृत्व तहमा ४० प्रतिशतको व्यवस्थाकै कारण अहिले पालिकाहरूमा प्रतिनिधित्व बढेको स्मरण गरे ।
“संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन । आजका दिनसम्म जे जति उपलब्धि हासिल भएका छन्, त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिताको सुनिश्चितता हुनु आवश्यक छ”, उनले भने ।
पछिल्लो समय महिलाहरूमा जागरूकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री सुडीले आफूलाई मतदान गर्ने कुल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै उनले भने, “मलाई महिलाहरूले विजयी बनाउने र उनीहरूको हक हितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो । म सरकारको प्रतिनिधिका हैसियतमा महिलाहरूको अर्थपूर्ण सहमगिता बढाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउछु ।”
मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौँमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानूनबारे जानकारी दिने गरी मन्त्रालयले तयारी गरिरहेको समेत जानकारी दिए ।
कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाहरूको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउन सक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताए । उनले भने, “महिला र पुरुष सबै उत्तिकै क्षमतावान छौँ, अवसर प्राप्त भएका बखतमा विभिन्न क्षेत्रमा महिलाहरूलाई आफूलाई प्रमाणित गरिसक्नु भएको छ । इक्यानको यो कार्यक्रम यही यथार्थलाई थप प्रमाणित गर्नु हो ।”
कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभइ अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गर्दै राज्यका नीति निर्माणका तहमा पनि उनीहरूको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको उनको भनाइ छ । उनले महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेको समेत उल्ल्लेख गरे ।
त्यस अवसरमा शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील भइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत महत्वपूर्ण योगदान दिने विभिन्न उद्यमी महिलाहरूलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले उनीहरूलाई प्रमाणपत्र र अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा डा. सन्तोष अग्रवाल, रश्मी भण्डारी, विजया चापागाँई, सन्ध्या भण्डारी, सफला ताम्राकार, उषा श्रेष्ठ, कविता पाण्डे पौडेल, सलिना थापा, सुष्मा आचार्य रहेका छन् ।
कार्यक्रममा डा नम्रता पाण्डेले सहभागीलाई काम र व्यक्तिगत जीवनलाई कसरी सन्तुलित राख्ने भन्ने विषयमा मोटिभेसन दिइन् । उनले महिलाका लागि निजी जीवन, परिवार र व्यवसायिक जीवनबीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण भएपनि आध्यात्मिकताका माध्यमबाट त्यसलाई सन्तुलनमा राख्न सकिनेमा जोड दिइन् ।
कार्यक्रममा इक्यानका निर्वतमान अध्यक्ष प्रकाश पाण्डे, पूर्वअध्यक्षहरू विष्णुहरी पाण्डे, राजेन्द्र पाण्डे, सल्लाहकार अरुण लामिछानेलगायत शैक्षिक परामर्श क्षेत्रमा सक्रिय दुई सयभन्दा बढी व्यवसायमा आबद्ध महिलाहरूको सहभागिता थियो ।
Discussion about this post