काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरूले गरेको विरोधलाई अन्यथा रूपमा नहेरी लोकतान्त्रिक अभ्यासका रूपमा मात्र लिनुपर्ने सुझाव दिएका हुन् ।
उनले भने, ‘त्यो घटनालाई सरकारले अराजकताका रूपमा ग्रहण गरी त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइनु हुन्न । मुलुकमा भइरहेका कतिपय असान्दर्भिक र अनियमिततासँग जोडेर युवाहरूले गरेका त्यस्ता विरोधका घटनामा राजनीतिक दल र सरकार संयमित हुनुपर्छ ।’
सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध केही युवाहरूले नाराबाजी गरेका थिए ।
प्रहरीले नाराबाजी गर्ने दुई युवक सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेपछि यो विषयलाई रास्वपाले संसद्मा उठाएको छ ।
Discussion about this post