बिर्तामोड/ झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा कर्मयोग, ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन बनाउने उद्देश्यले महापुराण आयोजना गरिने भएको छ ।
फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको पुराण आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिइन् ।
नगरमा गणेश पाञ्चायन मन्दिर निर्माण गरेर फागुन ९ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठासँगै उदघाटन समेत गरिसकिएको उनले बताइन् ।
मन्दिर निर्माणका लागि विभिन्न दाताहरुबाट १३ लाख ३१ हजार ४ सय ९० रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
मन्दिर निर्माणमा बिर्तामोड नगरपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको छ । श्री सिद्धिविनायक भजन कीर्तन मण्डलीको अगुवाइमा निर्माण गरिएको मन्दिरमा आवश्यक रंग युनिक पेन्ट्सले, टायल्स शाकम्बरी ट्रेडर्सले सौजन्य गर्नु भएको छ भने मुर्ति स्थानीय समाजसेवी गणेश खरेलले सौजन्य गरेका हुन् ।
पुराण आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महापुराणबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको आयोजक समिति अध्यक्ष शिवाकोटीको भनाइ छ ।
पुरानमा करिब २० हजार भक्तजन सहभागी हुने अपेक्षा रहेको आयोजक समितिका सचिव पुष्प खड्काले बताए । पहिलो चरणमा जग्गा खरीद गर्ने लक्ष्य रहेको उनले सुनाए । दोस्रो चरणमा बहुउद्देश्यीय बहुतले भवन निर्माणको काम थालिनेछ ।
मन्दिर निर्माणका लागि बिर्तामोड–४ का समाजसेवी जग्गादाता गुरुप्रसाद ओझाले निःशुल्क ११ धुर जग्गा दिएका छन् भने थप ११ धुर जग्गा खरिदका लागि बैना गरिएको छ ।
महापुराणमा भागवत मञ्जरी पुज्या राधिका दासीले प्रवचन दिनेछिन् । पुराणका लागि भीमा शिवाकोटीको संयोजकत्वमा आयोजक समिति, ३१ सदस्यीय सल्लाहकार समिति र २७ सदस्यीय सचिवालय गठन भइसकेको छ ।
आयोजक समितिका सहसंयोजकहरु सूर्य कन्दङ्वा, छविलाल विश्वकर्मा, जनबहादुर ९जेबी० जबेगु, श्री सिटौला, नारायण राजवंशी र शिव खनाल छन् । सचिव पुष्प खड्का, सहसचिवहरु केशव उप्रेती, उमा भट्टराई र दिनेश अधिकारी र कोषाध्यक्ष यामप्रसाद न्यौपाने छन् ।
केशव भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र सीता न्यौपानेको संयोजकत्वमा ६५ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति गठन भएको छ । विभिन्न २७ वटा उपसमितिहरु निर्माण भएका छन् ।
तीनवटा गेटको फ्लेक्स र हाइजेनिक खाद्य पदार्थ डिलाइट फुड्सले सौजन्य गरेको छ । पण्डाल तथा आसपासको क्षेत्र चौबिसै घण्टा सीसी टिभीको निगरानीमा रहने छ जनाइएको छ ।
सीसी टिभी नोबेल टेक्नोलोजी सिस्टम्स प्रालिले सौजन्य गरेको छ ।
पण्डाल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न भजन कीर्तन मण्डली, टोल विकास संस्थाहरु, वडा कार्यालय, विभिन्न संघसंस्थाहरु, सामाजिक सञ्जाल, पोष्टरलगायतको माध्यमबाट प्रचारप्रसारको कामलाई तीव्रता दिइएको छ । दान दिन इच्छुक दाताको सहजताका लागि क्युआर कोड, बैंक खातासमेत व्यवस्था गरिएको छ ।
कलश यात्राका लागि नैनकला भट्टराई र रञ्जु प्याकुरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । १ हजार ८ कलश आयोजक समितिले खरिद गरेको छ भने अनुष्ठान पश्चात उक्त घडा खरिद गर्न इच्छुकहरुलाई बिक्री गर्ने गरी बुकिङ खुल्ला गरिएको छ ।
कलश यात्रा २० गते विहान ठीक ९ बजेदेखि शुरु गरिने छ । पुराणस्थलबाट शुरु भएको यात्रा मुक्ति चोक हुँदै फर्कने छ ।
कार्यक्रमको औपचारिक उद्घाटन सभामुख देवराज घिमिरेबाट हुने तय भएको आयोजकले जनाएका छन् । छ । अनुष्ठानको कथा वाचन फागुन २१ गते आइतबार ११ बजेदेखि हुनेछ भने २७ गते समापनको कार्यक्रम छ ।
Discussion about this post