काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसद्मा सङ्घर्ष गरेर समिति बनाइयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका छन् ।
उनले भने- ‘केही दिनदेखि संसद्मा केही साथीहरूले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरू भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसद्मा सङ्घर्ष गरेर समिति बनाइयो ।’
थापाले समितिमा आफूहरूले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनीको नाम लेख्न लगाएको बताएका छन् ।
उनले भने- ‘हामीसँग भएका तथ्य र प्रमाणहरू समितिमा पुगेनन् होला ? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होइन होला ?’
आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउँदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले भने- ‘बरु, साथीहरू झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’
Discussion about this post