केदार बस्नेत
धरान । भारतको युनाइटेड कर्साङ फुटबल क्लब ९युकेएफसी० लाई पराजित गर्दै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९केएफटिसी० बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालमा आज भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसी फाइनलमा प्रवेश गरेको हो ।
केएफटिसीका लागि विदेशी खेलाडी यमि, सुशील राई र निशान लिम्बूले गोल गरे । खेलको २२ औं मिनेटमा केएफटिसीले ग्रता लिएको थियो । यमिले विपक्षी दुई डिफेन्स र गोल किपरलाई समेत बिट गर्दै उत्कृष्ट गोल गरे ।
त्यसपछि युकेएफसीका हेमराज भूजेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । भुजेलले प्रतिक लामाको पासमा हेड गोल गरेका थिए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा केएफटिसीले थप दुई गोल ग¥यो । दोस्रो हाफको सातौ मिनेटमा यमिको क्रसमा गिल्सन लिम्बुले मिलाइदिएको पासलाई केएफटिसीका सुशिल राईले गोल गर्दै खेलमा पुनः अग्रता दिलाए ।
खेलको अन्तिम मिनेटमा सुशील राईलाई विपक्षी डिफेन्सले फल गरेपछि पाएको पेनाल्टीमा निशान लिम्बूले गोल गरे । उनी प्रतियोगिताको उच्च गोलकर्ता समेत भएका छन् । उनले दुई खेलमा तीन गोल गरेका छन् ।
खेलको म्यान अफ द म्याच केएफटिसीका यमि घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । सोचेजस्तो खेल खेल्न नसक्दा आफ्नो टिम पराजित भएको युकेएफसीका प्रशिक्षक उर्गेन लामाले बताए । गोल स्कोरमा समस्या भएको भन्दै पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पराजित भएको उनको भनाइ छ ।
आफूले बनाएको रणनीति अनुसार खेलाडीले खेल्दा जित निस्किएको केएफटिसीका प्रशिक्षक मुन्ना सुब्बाले बताए । पहिले आफ्नो टिमले अग्रता बनाउँदा पनि डिफेन्स घाइते भएर मैदान छाड्नुपरेपछि गोल खाएको बताए ।
भोलि बिहिवार हुने सेमिफाइनल खेलमा एभिनियर क्यामरुन र एन्फा मोरङले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताए ।
Discussion about this post