विराटनगर : केन्द्रमा कांग्रेस एमालेको गठबन्धन भएसँगै कोशीमा पनि सोही समीकरणले निरन्तरता पाउने भएपनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा सहभागी हुने मिति टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् पूर्णता पाउन नसकेको हो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी हुनेबारे कांग्रेसले साउन १२ गते नै निर्णय गरेको थियो । तर, निर्णय भएको एक महिनासम्म कांग्रेस सरकारमा सहभागी हुन सकेको छैन । जसकारण कोशीमा कांग्रेसको सत्तारोहण अनिश्चित बनेको हो ।
सरकारमा सहभागी नभएको कांग्रेस शुक्रबार (आज)बाट सुरु हुने प्रदेशसभा (संसद) बैठकमा भने सत्तापक्षको बेन्चमा बस्ने भएको छ । यसअघि संसद सुरु हुनुअघि नै कोशीमा कांग्रेससहितको सरकार विस्तार हुने भनिएको थियो । तर, त्यो पनि भएन । प्रदेश सरकारमा सहभागी हुन नसकेपछि संसदभित्र भने सत्तापक्षकै बेन्चमा बस्ने कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । शुक्रबार (आज) दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा कांग्रेसले सत्तापक्षमा बस्ने जानकारी गराएको छ । कार्की नेतृत्वको सरकारबाट यसअघि नै बाहिरिएको नेकपा माओवादी केन्द्रले प्रतिपक्षमा बस्ने जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार कांग्रेसले सत्तापक्ष र माओवादीले प्रतिपक्षको बेन्चमा बस्ने जानकारी गराइसकेका छन् । त्यही अनुसार संसदमा ‘सिट एरेन्ज’ गरिने उनको भनाइ छ ।
कांग्रेसले चार वटा मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी हुने सहमति एमालेसँग गरेको थियो । साउन १२ मा सहमति गरेर कांग्रेसले २ दिनभित्रमा मन्त्रीको नाम टुंगो लगाउने बताएको थियो । तर, आन्तरिक भागबन्डा मिलाउन नसक्दा प्रदेशमा मन्त्रालय विभाजन गर्नुपर्ने दबाब पनि कांग्रेसले दिएको थियो ।
कोशीमा कांग्रेसले चार मन्त्रालय पाउने भएपनि आन्तरिक भागबन्डा मिलाउन नसकेका कारण हालसम्म सरकारमा जाने टुंगो नलागेको हो । केन्द्रीय समिति बैठकपछि मात्रै सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलका नेता थापाले बताए । कांग्रेस केन्द्रीय समितिको बैठक भदौ १६ गते बस्दैछ ।
सरकारमा नगए पनि समर्थन गरिसकेका कारण शुक्रबारको प्रदेशसभा बैठकमा सत्तापक्षमा बस्ने थापाको भनाइ छ । ‘सरकारलाई समर्थन गरेका कारण सत्तापक्षमा बस्छौं,’ उनले भने ,‘केन्द्रीय समितिको बैठकपछि सरकारमा सहभागी हुन्छौँ ।’ केन्द्रीय समितिको बैठकपछि मन्त्रीको नाम टुंगो लगाएर सरकारमा सहभागी हुने थापाको भनाइ छ ।
Discussion about this post