विराटनगर : विराटनगरमा सफारी चालकको प्रदर्शनका कारण कोशी राजमार्ग (लोकमार्ग) अवरुद्ध भएको छ ।
राजमार्गमा सफारी तेर्स्याएर सीटी सफारी चालकले नाराबाजी र प्रदर्शन गरिरहेका हुन् । लोकमार्गअन्तर्गत विराटनगरको बरगाछीस्थित सडकमा सफारी राखेर चालक आन्दोलित बनेका छन् । जसका कारण सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको छ ।
यातायातका साधन सञ्चालनमा अवरोध गर्दै चालकहरुले मध्यान्ह १२ बजेदेखि राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको छ । विराटनगरको बरगाछीको ६ लेन सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालिएपछि सवारीसाधन सञ्चालन हुन नसकिरहेको हो ।
सफारी चालकको बन्दका कारण बिरामी बोकेका एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भइरहेको छ । अन्य कुनै पनि सवारीसाधन चल्न सकिरहेका छैनन् । त्यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालयअगाडि सफारी तेस्र्याएर प्रदर्शन गरेका थिए ।
सफारी चालक अनिल रायले महानगरको गेटअगाडि प्रदर्शन गरिएको जानकारी दिए । विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएपछि चालकहरु आन्दोलित भएको जानकारी उनले दिए । रायले सरकारी निर्णय गलत भएकाले तत्काल सच्याउनुपर्ने माग चालकहरुको रहेको बताए ।
विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले विराटनगरको रानी नाकादेखि ढाटसम्मको लोकमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् ।
उनीहरुले लोकमार्गमा सफारी गुड्न पाउनुपर्ने माग राखेका छन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।
आन्दोलनरत सफारी चालकले विराटनगरका मेयर नागेश कोइराला र प्रदेश सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले ऋण गरेर किनेको सफारीलाई सडकमा गुड्न प्रतिबन्ध लगाएर गरिबमारा काम गरिएको गुनासो गरे । निर्णय तत्काल फिर्ता नभएका आन्दोलन थप चर्काउने घोषणा सफारी चालकले गरेका छन् ।
ट्राफिक प्रहरीका अनुसार धेरै संख्यामा रहेका सफारीका कारण विराटनगरको सवारी आवागमन अस्तव्यस्त बन्दै गएको छ । जथाभावी सफारी सञ्चालन गरिँदा र सफारीले नियम नमान्दा दुर्घटना बढेको सरकारी निकायको विश्लेषण छ । विराटनगरमा अहिले ८ हजारभन्दा बढी सीटी सफारी रहेको ट्राफिक प्रहरीको अनुमान छ ।
तर, विराटनगर महानगरपालिकामा भने करिब २ हजारको संख्यामा मात्रै दर्ता छन् । सीटी सफारी सञ्चालनमा विशेष योजनासहित नयाँ नियम लागू गरिएको मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपानेले बताए । विराटनगरभित्रको कोशी लोकमार्गमा सफारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको उनको भनाइ छ ।
राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएको भनेर बिहीबार नै माइकिङ गरिएको थियो । दैनिक रुपमा सफारीको संख्या बढेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको र दुर्घटना पनि अत्यधिक बढेको न्यौपानेले बताए । सफारी सञ्चालनलाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको उनको भनाइ छ ।
सफारी सञ्चालनका लागि विराटनगरमा केही निश्चित स्थान तोकिएको छ । तर, राजमार्गमा गुड्न पाउनुपर्ने माग चालकहरुले गरेका छन् । नयाँ नियमलाई प्रभावकारी ढंगबाट लागू गरिने र दर्ता नभएका सफारीलाई नियन्त्रणमा लिएर ‘होल्डिङ सेन्टर’मा राखिने ट्राफिक प्रहरीले जनाएको छ ।
Discussion about this post