धरान : धरानमा अन्तर–पुस्ता महिलावादी मञ्चको आयोजनामा ‘अनुपम अभियान’ ¥याली निकालिएको छ ।
‘देशव्यापी महिलावादी’ भन्ने सन्देशका साथमा शुक्रबार धरानमा ¥याली निकालिएको हो । ‘महिला हिंसा अन्त्य गरौँ,’ ‘अब नेत्री बन्ने हो, शिकार बन्ने होइन,’ ‘महिला नेतृत्व मिशन ८४,’ ‘अनुपम यात्रा सफल पारौं लगायतका प्ले कार्डसहित ¥याली निकालिएको थियो ।
महिलाहरूले नेतृत्व गरे भने पुरुष भन्दा राम्रो गर्न सक्ने धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बताए ।
देशमा महिला र पुरुष बराबर रहेको बताउँदै उनले निर्वाचनमा पनि बराबर अधिकार दिनुपर्ने बताए ।
आगामी २०८४ सालको निर्वाचनलाई लक्ष्य बनाएर अबको निर्वाचन महिलामैत्री होस् भन्ने उदेश्यको साथ अन्तर–पुस्ता महिलावादी मञ्चले २०८० सालदेखि ०८४ सम्मका लागि ‘अनुपम अभियान’ सञ्चालन गरिएको मञ्चकी संस्थापक सदस्य सरु जोशीले बताइन् ।
‘यो अभियान अन्तर्गत सबै महिला एकजुट हुने प्रक्रियामा रही हामी देशव्यापी यात्रा गर्दैछौँ,’ उनले भनिन् । न्यायिक र समतामूलक समाज बनाउन टेवा पुर्याउने अभियानको उदेश्य रहेको उनको भनाइ छ ।
यो यात्राले गर्दा महिलावादीहरूको स्वाभिमान र आत्मसम्मान बढ्ने विश्वास लिएको महिला सञ्जाल धरानकी अध्यक्ष सपना राईले बताइन् । अभियानले महिलाहरूलाई रचनात्मक बनाउँदै सबैलाई समेट्ने प्रयास गर्ने उनको भनाइ छ ।
बस यात्रालाई पछ्याउँदै, प्रदेश, जिल्ला, पालिका र वडाभित्र यस्तै यात्राहरू वर्षभरी सम्पन्न हुने उनले बताइन् । भनिन्, ‘यो देशका ५१ प्रतिशत महिलाले आफ्नो स्थान लिन सक्नुपर्छ । हामी सबैले महिलालाई जिताएर पु¥याउनु पनि पर्छ भन्ने आव्हान लिएर हामी हिँडेका छौं ।’
महिला अधिकारको क्षेत्रमा क्रियाशील अगुवा महिलाहरू मेची महाकाली अनुपम अभियानमा रहेको उनको भनाइ छ । गत चैत ४ गते मेचीबाट एउटा र महाकालीबाट अर्को गरी दुई समूहमा अभियानमा निस्केको बताइन्छ ।
महिलामाथि हुने सबै किसिमका हिंसा, विभेदविरुद्ध आवाज उठाउँदै राजनीतिक तहमा महिलाको अर्थपूर्ण सहभागिताको लागि ऐक्यवद्धता जुटाउँदै धरान आइपुगेका बेला यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा धरानकी निवर्तमान उपप्रमुख मञ्जु भण्डारी, कार्यापालिका सदस्य सिर्जना नेपाललगायत विभिन्न संघसंस्था, राजनितिक दलहरूमा आवद्ध महिलाहरूको उपस्थिति रहेको थियो ।
धरान उपमहानगरपालिकाको गेट अगाडिबाट सुरु गरिएको ¥याली चतरा लाइन छाता चोक, पुरानो बजार, देशी लाइन हुँदै भानुचोकमा पुगेर समाप्त भएको थियो ।
Discussion about this post