विराटनगर : सीडीओले वार्तामा बोलाएपछि विराटनगरमा सफारी चालकको प्रदर्शनका कारण अवरुद्ध बनेको कोशी राजमार्ग लोकमार्ग सञ्चालनमा आएको छ ।
सफारी चालकले सडकको प्रदर्शन रोकेपछि लोकमार्ग सुचारु भएको हो । विराटनगरको बरगाछीस्थित राजमार्गमा सफारी तेस्र्याएर सीटी सफारी चालकले नाराबाजी र प्रदर्शन गर्न थालेपछि सवारी आवागमन प्रभावित बनेको थियो ।
सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्दा यातायातका साधन चल्न सकेका थिएनन् । त्यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालयअगाडि पनि सफारी तेस्र्याएर प्रदर्शन गरेका थिए ।
विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएको विरोधमा चालकहरु आन्दोलित बनेका हुन् । उनीहरुले सरकारी निर्णय तत्काल सच्याउनुपर्ने माग राखेका छन् । विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले विराटनगरको रानी नाकादेखि ढाटसम्मको लोकमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको थियो ।
त्यसको विरोध गर्दै आन्दोलनमा उत्रिएका सफारी चालकले राजमार्गमा सफारी चलाउन पाउनुपर्ने माग गरेका थिए । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।
राजमार्ग नै अवरुद्ध पारेर आन्दोलन सुरु भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी -सीडीओ_ प्रेमप्रसाद भट्टराईले सफारी चालकहरुलाई वार्तामा बोलाएका छन् । उनले भोलि – शनिबार बिहान ११ बजेका लागि वार्तामा आउन आग्रह गरेका हुन् ।
सीडीओले वार्तामा बोलाएपछि सफारी चालकको प्रदर्शन रोकिएको छ । तत्काललाई आन्दोलन रोकेर उनीहरु फिर्ता भएसँगै लोकमार्ग नियमित रूपमा सुचारु भएको हो ।
Discussion about this post