इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र रास्वपाका सांसद अशोक चौधरीबीच सामाजिक सञ्जालमा जुहारी परेको छ ।
सांसद चौधरीले बिहीबार संसदमा इटहरी उपमहानगरपालिकामा विभिन्न विषयमा अनियमितता भएको कुरा उठाएका थिए । चौधरीले इटहरीमा भएका भ्रष्टाचारलाई नीतिगत र संस्थागत परिवर्तन गर्नुपर्ने बताएका थिए ।
उनले संसदमा भनेका थिए, ‘विभिन्न नाममा बारम्बार भ्रष्टाचार गरिरहने र राज्यको सम्पत्ति दोहन गरिरहने अपराधीहरूलाई इन्तु, किन्तु, परन्तु केही नभनीकन कारबाही सुरु गर्नुपर्छ । इटहरी उपमहानगरमा देखिएको र नदेखिएको सबै किसिमका भ्रष्टाचार छानबिन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सोबारे मेयर हेमकर्ण पौडेलले शुक्रबार खण्डन गर्दै अफवाह फैलाइएको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत खण्डन व्यक्त गर्दै भ्रष्टाचार भएको आरोप निराधार भएको बताए । इटहरी १४ मा रहेको शान्ति सिर्जना माविमा कर्मचारीको मानवीय त्रुटीका कारण बढी पैसा गएकोसमेत प्रष्टीकरण दिएका थिए ।
यसैगरी नगर बस खरिदमा एक करोड ४० लाख रुपैयाँ घोटाला भएको कुरा उठेपछि मेयर पौडेलले टेण्डर प्रक्रियाबाट बस खरिद गरेको र यसबारे छानविन समिति बनाउने र अख्तियारमा मुद्धा दर्ता गरी छानबिन गर्ने कामको नेतृत्व गर्न चुनौतीसमेत दिए ।
रास्वपाले स्टन्ट गर्ने र आफ्नो भूमिका र जिम्मेवारीबाट पन्छिने काम गरिरहेको बताउँदै मेयर पौडेलले भने, ‘जुन विषयमा मुद्धा छैन, छानबिन छैन, वहाँ न्यायाधिश हो ? बकबक गरेर मात्र हुँदैन, यो कुराको छानबिन गरेर तपाईले टुंगो लगाउनुपर्छ ।’
यसैगरी इटहरी अस्पतालमा सिटी स्क्यान मेसिन खरिदको विषय जनदबाबको भरमा रोकिएको भन्ने विषय सरासर गलत भएको मेयर पौडेलको प्रष्टोक्ति थियो । प्रि–बिडिङ मात्र गरेको बताउँदै उनले प्राविधिक रूपमा समस्या देखिएपछि प्रि–बिडलाई रोकेको प्रस्ट्याए ।
सांसद चौधरीले संसदमा कतै अनुसन्धान र मुद्दा नभएको, छानबिन नभएको विषय उठाएको उक्त विषयलाई प्रमाणित गरेर देखाउन समेत मेयर पौडेलले चुनौती दिए ।
मेयर पौडेलले सांसद चौधरीलाई चुनौती दिएपछि चौधरीले शनिबार लामो स्टाटस लेख्दै प्रतिवाद गरेका छन् । मेयर पौडेल र सासद चौधरी एक अर्कालाई चुनौती दिन र आरोप–प्रत्यारोपमा केन्द्रीत भएका हुन् ।
सदनमा आफूले इटहरी उपमहानगरपालिकामा भइरहेको, देखिएको, नदेखिएको सबै भ्रष्टाचारको छानवीनको मुद्दा उठान गरेको र उपमहानगरमा हुने कुनै पनि वेथितिहरूको आँखामा कालो पट्टी बाधेर टुलुटुलु हरेर बस्न आफू नसक्ने उनले उल्लेख गरेका छन् ।
‘इटहरी उपमहानगरपालिकाले खरिद गरेको चारवटा विद्युतीय बसमा करिब एक करोड ४० लाख रुपैयाँको हाराहारीमा भ्रस्टाचार भएको कुरा बाहिर आएको र पालिकाले जनताको सहजताका लागि भनी किनेको विद्युतीय बसको आधिकारिक आयातकर्ता स्पार्क अटोमोबाइल्स भएको तर तेस्रो कम्पनी खडा गरी विद्युतीय बसको वास्तविक लागत भन्दा बढी रकम खर्च गरेर भ्रष्टाचार गरिएको के असत्य हो ? मेयर साब’ सांसद चौधरीले पुनः प्रश्न गरेका छन् ।
यसैगरी नगर अस्पतालको लागि एक मात्र कम्पनीलाई ठेक्का पार्ने गरी सुनियोजित तरिकाले करिब पाँच करोडमा आउने सिटी स्क्यान मेसिन आठ करोड बढी मूल्यमा टेन्डर गरेर भ्रष्टाचार गर्न खोजेको आरोप सासंद चौधरीले लगाएका छन् ।
यो बिषयमा चासो राख्दै रास्वापा इटहरी नगर समितिले र इटहरी उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष जीतेन्द्र थापाले यसै सम्बन्धमा छानबिन गरि दोषी उपर कारबाही गर्ने पत्र समेत लेखेर विरोध भएपछि उक्त बोलपत्र नै रद्ध गरिएको सांसद चौधरीको आरोप छ ।
‘आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ स्थित श्री शान्ति सिर्जना माध्यमिक विद्यालयलाई करिब ८० लाख बढी रकम भुक्तानी दिएको र २२ महिनासम्म गुपचुपमा राखिएको प्राप्त प्रमाणहरूले नै बोलिरहेको र यहाँ मानवीय गलतको सम्भावना कहाँ देखिन्छ ?,’ सांसद चौधरीले भनेका छन्, ‘मानवीय त्रुटि भनेर थाहा पाएपछि त्रुटि गर्ने कर्मचारीलाई अहिलेसम्म कारबाही किन नगरेको ?’
इटहरीमा अन्य विषयहरूमा पनि भ्रस्टाचार भएको कुरा आएका र ती विषयहरूमा प्रमाण संकलन र अध्ययन चलिरहेको हुँदा निचोड प्राप्त गरे पश्चात् बोल्ने उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
यसैगरी सासंद चौधरीले मेयर पौडेललाई आफूले उठाएका मुद्दाहरू नाजायज लागे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कागजातहरू बुझाएर आफैँ चोखिन चुनोैती समेत दिएका छन् ।
Discussion about this post