नवीन दाहल
इटहरी : इटहरीमा उखुको जुसमा अखाद्य वस्तु हालेर बेचेको भन्दै १९ वटा ठेलालाई कारबाही गरिएको छ । गत बिहीबार इटहरीमा बजार अनुगमनको क्रममा २२ वटा ठेला सहित १४ जनालाई नियन्त्रणमा लिइएको थियो ।
उखुको जुसमा अखाद्य वस्तु हालेर बेचेको भन्दै प्रति ठेला १० हजारका दरले जरिवाना तिराइएको इटहरी नगर प्रहरी प्रमुख जेबी राईले बताए । ‘हामीले १९ वटा ठेलालाई १० हजारका दरले जरिवाना गरेका छौ,’ राईले भने । जरिवानासहित उपमहानगरभित्र जथाभाबी रूपमा उखुको जुस बेच्न प्रतिबन्ध समेत लगाइएको उनले बताए ।
उपमहानगरले अनुगमन गर्न थालको सूचना पाएपछि कतिपय व्यापारीहरू भने ठेला छाडेर भागेको उनको भनाइ छ । नियन्त्रणमा लिइएका ठेला व्यापारीहरूलाई एक रात हिरासतमा राखेर छाडिएको समेत प्रमुख राईले बताए । इटहरीमा एउटै व्यक्तिको ७ वटा सम्म ठेला रहेको र ठेलाहरूमा उखुको रस बेच्न कामदार राख्ने गरेको पाइएको समेत उनले बताए ।
इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण शाखाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार अनुगमनको क्रममा उखुको जुसमा ‘साकारीन’ नामको कृत्रिम गुलियो हालेर बेचेको पाइएपछि पक्राउ गरिएको हो ।
‘अनुगमनको क्रममा बिरे नुनमा साकारीन नामको कृत्रिम गुलियो मिसाएर उखुको जुसमा बेच्ने गरेको पाइयो’ उनले भनिन्, ‘साकारीन’ को निश्चित मात्रा प्रयोग गरेमा शरीरलाई असर नगर्ने भए पनि अन्दाजको भरमा उखुको जुसमा मिसाउने गरेको हामीले भेटेको हुनाले नियन्त्रणमा लिएका हौ ।
कृत्रिम तरिकाले उत्पादन गरिएको उक्त गुलियो प्राकृतिक भन्दा धेरै गुलियो हुने र बढी मात्रामा गुलियो शरीरले पचाउन नसक्नुका साथै शरीरलाई समेत गम्भीर असर पुर्याउने उनको दाबी छ ।
इटहरीमा यस्ता उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने खालका क्रियाकलापलाई बन्द गराउन इटहरी उपमहानगरले नियमित रूपमा बजार अनुगमन गर्दै आइरहेको उनले जनाइन् ।
खासगरी उपमहानगरबाट अनुगमनमा खटिएका नगर प्रहरीसहित कर्मचारीहरूले जिब्रोले चाखेर अनुमानका भरमा उखु व्यापारीलाई नियन्त्रणमा लिएपछि आलोचना हुँदै आएको थियो । अखाद्य वस्तु मापन गर्ने कुनै ल्याब नभई नगर प्रहरीले अनुमानको भरमा नियन्त्रणमा लिएकोमा स्थानीय व्यापारीहरूले आपत्ति जनाएका थिए।
Discussion about this post