इलाम : दक्षिण कोरियामा गएको भदौ दुई गते मृत्यु भएकी इलाम माईकी सोनु श्रेष्ठको परिवारलाई त्यहाँ रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरिएको छ । इलाम माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको परिवारलाई कोरियामा बस्ने नेपालीले आर्थिक सङ्कलन गरेर पठाएका हुन् ।
विद्यार्थी भिसामा कोरिया जान भएको सोनुको परिवारलाई त्यहाँबाट सङ्कलन गरेर पठाइएको छ लाख २१ हजार छ सय ५५ रुपैयाँ सहयोग गरिएको हो ।
कोरियामा अध्ययनरत नेपाली विद्यार्थी समाज, इलामेली समाज र त्यहाँका गैर आवासीय नेपालीहरूले सहयोग सङ्कलन गर्नु भएको हो ।
अध्ययनको लागी कोरियामा आकस्मिक रूपमा मृत्यु भएपछि उनको शवलाई नेपाल ल्याउने प्रक्रिया र खर्चको व्यवस्थापन गर्न आवश्यक भूमिका इलामेली समाज, विद्यार्थीहरूको संस्था (सोनसिक) र एनआरएनए कोरियाले गरेको थियो । त्यहाँबाट सङ्कलित रकम घरैमा पुगेर ईलामेली समाज दक्षिण कोरिया पूर्व उपाध्यक्ष मुकेश राईले प्रदान गरेका हुन् ।
कोरियामा रहेका संस्थाले नै सोनुको शव नेपाल ल्याउन करिब छ लाख रुपैयाँ खर्च गरेका थिए । उनको शव नेपाल पठाउने उठेको रकमबाट उब्रिएको रकम सोनुको परिवारलाई सहयोग गरिएको जनाइएको छ ।
सोनु फेब्रुअरीमा कोरियामा रहेको उल्सान विश्वविद्यालयमा अध्ययनका लागि गएकी थिइन् । उनँको घरमा हाल आमा, एक भाइ र एक बैनी रहेका छन् । श्रेष्ठको शव ९ गते घर ल्याएर दाहसंस्कार गरिएको थियो ।
Discussion about this post