इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले विद्युतीय नगरबस तथा स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्ने सार्वजनिक अभिव्यक्ति दिनेहरूलाई तथ्यहीन आरोप लगाउनुको साटो विधिसम्मत रूपमा छानबिन गरी दोषी प्रमाणित गर्न चुनौती दिएका छन्।
गत बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले प्रतिनिधिसभामा र एमाले कोशी प्रदेशकी सांसद मीना श्रेष्ठले यसबारे कुरा उठाएका थिए।
तर, मेयर पौडेलले आरोप लगाउने सांसदलाई चुनौती दिदैँ भने, ‘छानबिन गराउ, दोषी प्रमाणित गर, त्यो दिन सांसदहरूको घरमा घरेलु कामदार बन्न तयार छु ।’
जिम्मेवार जनप्रतिनिधिहरूले तथ्यहीन विषयमा अभिव्यक्ति दिएर सदनकै गरिमा होच्याएको पौडेलको जिकिर छ ।
उनले भने, ‘यो देशमा भ्रष्टाचारको छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, मुद्दा चलाउने न्यायालय छ। अधिकार प्राप्त सरकारी सयन्त्रहरू छन। ती सबै निकायलाई गुहारेर छानबिन गर्न, गराउन म खुल्ला चुनौती दिन्छु ।’
उनले इटहरीका जनताको सेवा गर्न उनीहरुकै मतमार्फत आफू नगर सरकारमा रहेको र उपमहानगरबासीको सेवाका लागि आफूले कुनै सम्झौता नगर्ने दृढता प्रकट गरे ।
‘तथ्यहीन आरोप लगाएर रमाउन खोज्नेहरुलाई म विधिसम्बत रूपमा छानबिन गर्ने निकायमा उजुरी दिन, अथवा छानबिन समिति बनाएर छानबिन गर्न खुल्ला चुनौती दिन्छु। उपमहानगरको कामबाट आत्तिएर स्वार्थको रोटी सेक्न अराजनीतिक र भ्रामक कुरा नउचाल्न म चुनौती दिन्छु,’ मेयर पौडेलले भने ।
Discussion about this post