इटहरी : संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको स्थानीय तहको निर्वाचनमा इटहरीका राजनीतिक दलहरूको मुख्य एजेन्डा नै यहाँ सार्वजनिक शौचालय बनाउने थियो । तर, स्थानीय तहको दोस्रो कार्यकालको आधा कार्यकाल सकिन लागेपनि इटहरीमा सार्वजनिक शौचालय निर्माणको पूर्णता पाएको छैन ।
०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका द्धारिकलाल चौधरीले इटहरीको मुख्य आवश्यकता नै सार्वजनिक शौचालय रहेको भन्दै चाँडै काम हुने घोषणा गरेका थिए । तर, उक्त घोषणाअनुसार हालसम्म पनि काम नहुँदा उपमहानगर परिसरको सार्वजनिक शौचालय अधुरै छ ।
२०७६ पुस २४ गते इटहरी उपमहानगरपालिकाको गेटैमा ६ महिनाभित्र सम्पन्न गर्नेगरी तत्कालीन मेयर द्वारिकालाल चौधरीले स्मार्ट शौचालयको शिलन्यास गरेका थिए । तर, शिलान्यास भएको पाँच वर्षसमम निर्माण अपुरो छ ।
तत्कालीन मेयर चौधरीले शिलान्यास गरेको चार महिना नबित्दै शौचालयको बाहिरी भौतिक संरचना तयार भएको भएपनि हालसम्म शौचालय निर्माण सकिएको छैन ।
उपमहानगरकाअनुसार स्मार्ट शौचालयमा पुरुष र महिला गरी एकपटकमा १५ जनाले प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको थियो ।
शौचालयको अघिल्लो भागको माथिल्लो तलामा डिजिटल घडी रहने, बगैँचा, वाटर फाउन्टेन रहने र शौचालयको धारा तथा ढोकामा सेन्सर प्रविधिसमेत जडान गरिनेगरी निर्माण सुरु भएको थियो । तर, अहिले निर्माणको काम भने लथालिङ्ग छ ।
२०७९ मसान्तसम्म निर्माण सम्पन्न गर्ने मेयर चौधरीले बताएका थिए । तर सो समयपछि हालसम्म शौचालयको छतमा पानिको ट्याङ्की राख्ने बाहेक अरु काम अगाडि बढ्न सकेको छैन ।
पछिल्लोपटक इटहरी उपमहानगरको मेयरमा निर्वाचित भएका हेमकर्ण पौलेलले चुनावको समयमा सार्वजनिक गरेको प्रतिवद्दता पत्रमा सार्वजनिक शौचालयले प्राथमिकता पाएको थियो ।
पौडेल मेयरमा निर्वाचित भएसँगै इटहरीको मुख्य चौक र इटहरी पूर्व बस स्टेण्डमा सार्वजनिक शौचालय सञ्चालमा आएपनि उपमहानगर परिसरमै निर्माणाधीन शौचालय भने बिरामीजस्तै छ ।
हाल शौचालयमा माकुराको जालोले भरिपूर्ण र सार्वजनिक स्थलबाट नगर प्रहरीले उठाएर ल्याएको बाख्रा बाँध्ने थलो बन्दै गएको छ ।
इटहरी उपमहानगरका इञ्जिनियर जीवन घिमिरेका अनुसार सिराहको अङ्कित निर्माण सेवाले ६३ लाख ६७ हजार ५१५ रुपैयाँमा शौचालय निर्माण गर्ने ठेक्का पाएको थियो ।
पटकपटक निर्माण सम्पन्न गर्ने म्याद थप्दै आइरहेको भएपनि कम्पनीले शौचालय निर्माणको काम अगाडि नबढाएको इञ्जिनियर घिमिरेले जानकारी दिए ।
२०७६ मा शिलान्यास भएको शौचालय निर्माणको अन्तिम म्याद २०८१ असार मसान्तसम्म भएपनि हालसम्म ४० प्रतिशत मात्रै काम सम्पन्न भएको घिमिरेले बताए ।
पटकपटक म्याद थप गर्दासमेत काम अगाडि नबढाउने ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।
‘हामीले असार मसान्तसम्म काम सक्ने म्याद दिएका थियौँ, तर काम सम्पन्न भएको छैन,’ उनले भने, ‘त्यसैले अब हामी नगर प्रमुख स्तरीय बैठक बसेर कारबाही गर्छौँ ।’
इञ्जिनियर भविन्द्र चौधरीका अनुसार अङ्कित निर्माण सेवाले २५ लाख ७७ हजार ६ सय ६६ रुपैयाँ १५ पैसा लगिसकेको छ । उक्त कम्पनीले लगेको पैसाको हिसाबले ३९ प्रतिशत कार्य सम्पन्न भएको छ । भवन निर्माण भन्दा पनि स्मार्ट शौचालयमा राखिने प्रविधिहरू महङ्गो भएकाले गर्दा निर्माण कार्य प्रतिशतको हिसाबले कम देखिएको उनको दाबी छ ।
यसरी उपमहानगर परिसरमै निर्माणाधीन अवस्थामा रहेको सार्वजनिक शौचालय आफैँ बिरामीजस्तो हुनुले इटहरीमा विकासको कामले गति लिन नसकेको जानकारहरू बताउँछन् ।
Discussion about this post